काठमाडौं, चैत १७ : राजधानीका सडक खाली छन्, आकाश निलो । उपत्यकावरिपरिका डाँडाकाँडा र उत्तरतिरका हिमाल छर्लङ्ग देख्न सकिन्छ । लकडाउनसँगै काठमाडौंसहित देशैभर वायु प्रदूषण स्वाट्टै घटेकाले यस्तो भएको हो ।
वातावरण विभागका सूचना अधिकारी शंकरप्रसाद पौडेलले वायु प्रदूषण मापन गर्ने देशका सबै मापन केन्द्रमा प्रदूषणको मात्रा अत्यधिक न्यून पाइएको जानकारी दिए । उनका अनुसार आंँखाले देख्न नसकिने धुलोका कण (पीएम २.५) को मात्रामा उल्लेख्य गिरावट आएको इकान्तिपुर अनलाइनमा उल्लेख छ ।
काठमाडौँसहित देशका विभिन्न स्थानमा यतिबेला पीएम २.५ को मात्रा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले तोकेको मापदण्डजत्तिकै र कतिपय स्थानमा त्यो भन्दा पनि कम देखिएको छ। काठमाडौंको रत्नपार्कमा आइतबार पीएम २.५ को मात्रा प्रतिघनमिटर हावामा २३ माइक्रोग्राम रेकर्ड भएको छ। डब्लूएचओले पीएम २.५ को मात्रा २५ माइक्रोग्राम (प्रति २४ घण्टा) तोकेको छ । सरकारले प्रतिघनमिटर हावामा पीएम २.५ को मात्रा ४० माइक्रोग्राम तोकेको छ ।
सूचना अधिकारी पौडेलका अनुसार आइतबार पीमए २.५ शंखपार्कमा २५, भैंसेपाटीमा २७, पोखरामा २३, धुलिखेलमा १९, दमकमा ३५ र दाङमा १५ माइक्रोग्राम रेकर्ड भएको छ। यसअघि यी सबै स्थानमा पीएम २.५ को मात्रा सरकारले तोकेको मापदण्डभन्दा कयौं गुणा बढी रेकर्ड भएको थियो।
यस्तै, धनकुटामा २७, नेपालगन्जमा १७.५, पोखरा विश्वविद्यालय क्षेत्रमा २६.३ माइक्रोग्राम रेकर्ड भएको छ। सिमरामा भने पीएम २.५ को मात्रा अहिले पनि ११२ माइक्रोग्राम देखिएको छ । डब्लूएचओले १० माइक्रोग्राम भएको क्षेत्रलाई सुरक्षित हुने बताएको छ। उसले कुनै स्थानमा पीएम २.५ को मात्रा ४४.४६ माइक्रोग्राम छ भने त्यो संवेदनशील किसिमका व्यक्ति र समूहका लागि अस्वस्थ मानिने जनाएको छ ।
वातावरण विभागले सन् २०१७ मा गरेको अध्ययनमा जाडो महिनामा काठमाडौंमा पीएम २.५ को मात्रा १८० माइक्रोग्रामसम्म पुगेको पाइएको थियो । घरभित्र र बाहिरको वायु प्रदूषणका कारण बर्सेनि विश्वमा ७० लाख मानिसको ज्यान जाने गरेको तथ्यांक छ । वायु प्रदूषणका कारण स्ट्रोक, मुटुसम्बन्धी रोग, फोक्सोको क्यान्सरजस्ता रोगको सम्भावना हुन्छ । विश्वको जनसंख्याको ९२.५ प्रतिशतभन्दा बढी मानिस हावामा डब्लूएचओले तोकेको मापदण्डभन्दा बढी पीएम २.५ रहेको स्थानमा बस्छन्।
फागुनमा आईक्यू एअरले प्रकाशित गरेको ‘विश्वको वायुको गुणस्तरसम्बन्धी प्रतिवेदन’ मा पनि अघिल्लो वर्षभन्दा यो वर्ष वायुको गुणस्तरमा सुधार आएको प्रतिवेदन सार्वजनिक गरेको थियो। गत वर्ष आँखाले देख्न नसकिने धुलोको कण (पीएम २.५) को मात्रा प्रतिघनमिटर हावामा सरदर ५४.४ माइक्रोग्राम रहेकामा यो वर्ष ४४.५ माइक्रोग्राममा झरेको उसले उल्लेख गरेको छ ।
विभागको अध्ययनअनुसार वायु प्रदूषणको मुख्यस्रोत सवारी साधन हुन्। ‘सवारी साधन ठप्पप्राय: भएकाले प्रदूषण घटेको हो,’ पौडेलले भने। काठमाडौंमा मात्र करिब २० लाख सवारी गुड्छन्। यतिबेला एम्बुलेन्सबाहेक अनावश्यक गाडी गुडेका छैनन्। वायु प्रदूषणको दोस्रो ठूलो स्रोत मानिने इँटाभट्टा र कलकारखाना सबै बन्द छन्। त्यसले पनि राहत मिलेको हो। कृषिका लागि हुने नियन्त्रित आगोसमेत रोकिएकाले प्रदूषण हुन पाएको छैन।
आकाश र हिमशृंखला छर्लङ्गै
वातावरणरणविद् उत्तमबाबु श्रेष्ठ कोभिन १९ को संक्रमण रोक्न लगाइएको डाउनका कारण विश्वभरको वायु प्रदूषण उल्लेख्य रूपमा घटेको उल्लेख गर्छन्। सामाजिक सन्जालमा फेसबुकमा उनले लेखेका छन्, ‘काठमाडौंमा यति स्वच्छ आकाश अझ यो समयमा कहिल्यै देखिएको थिएन भन्दैछन् मान्छेहरू। लाग्छ, मानवताको गति केही समय रोकिँदा पृथ्वीले श्वास फेर्न पाउँदो रहेछ। एडवार्ड विल्सनले ठीकै भनेका रहेछन् कि क्या हो?’