बिर्तामोड, चैत १७ : विश्वमा कोरोना आतंकमा बेलामा पनि झापामा भारतीयहरु प्रवेश गरेर घर निर्माण गरिरहेका छन् । उनीहरुको घर भारतको बिहार राज्यको बहादुरगंज हाे । बिहार राज्य कोरोना भाइरसबाट बढी संक्रमित मानिन्छ ।
भारत तथा नेपालमा लक डाउनको बेला झापामा भने भारतीय मजदुरले लक डाउनको ठाडो उल्लंघन गर्दै धमाधम काम गरिरहेका हुन् । कनकाई नगरपालिका १, २ र ३ वार्डमा अहिले पनि भारतीय मजदुरले घर निर्माण गरिरहेका छन् । यी वडाका विभिन्न घरहरुमा नेपाली समेत नबुझ्ने १५/२० जनाको समुहमा रहेका भारतीय मजदुरले काम गरिरहेका छन ।
उनीहरुले भारतमा सरकारले लक डाउन गरेपछि नेपाल भारत सिमा डिघलबैँक नाका हुँदै नेपाल प्रवेश गरेको र शिवसताक्षी ब्लुचोकका एक ठेकेदारको सम्पर्कबाट सुरुङ्गामा काम गर्न थालेको बताएका छन् । यसबरेमा घरधनीसँग जिज्ञासा राख्दा आफुले पटक पटक घर निर्माण नगर्न अनुरोध गरे पनि मजदुरले नमानेको बताउनुभयो ।
ती भारतीयहरुले गरिबीका कारण काम गरे पनि नेपालमा कामै गर्न सरकारले रोक लगाएको बारेमा जानकारी नभएको र आफुहरु भारत सरकारले बोर्डर सिल गरेकाले खेतको आलीआली भारत आफ्नो घर बहादुर गंज जाने बताउने गरेका छन् ।
घरधनीका अनुसार उनीहरु विगत एक सातादेखि सुरुङ्गामै निर्माणाधिन घरभित्रै रहेर काम गर्दै आएका थिए । यसबारेमा स्वतन्त्र मजदुर युनियन कनकाईका अध्यक्ष केशर न्यौपानेसँग जिज्ञासा राख्दा कनकाईका कोही पनि मजदुरलाई यो बेलामा काम गर्न र घरबाहिर निस्कन समेत प्रतिवन्द लगाएको बताउनुभयो ।
यस क्षेत्रमा काम गर्ने मजदुर होम क्वारेन्टाइनमा बसे पनि भारतीय मजदुरले नेपाली मजदुरले छाडेको काम गर्न थालेको बताउनुभयो । यसको सम्पूर्ण जिम्मा घरधनी र सम्बन्धित ठेकेदारले लिनुपर्ने समेत न्यौपानेले बताउनुभयो ।