नवलपुर, वैशाख ३१ :नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकाको मतगणना सुरु भएको छ । जिल्लाको सातवटा स्थानीय तहमा शुक्रबार रातिदेखि नै मतगणना सुरु भएको भए पनि मध्यविन्दुमा भने आज साँझ ६ः३० बजेदेखि मतगणना सुरु भएको हो ।
मतगणना गर्ने विषयमा बसेको सर्वदलीय बैठक कुनै निर्णय आउन सकेको छैन । दलले निर्णय लिन नसकेपछि मतगणना सुरु भएको मध्यविन्दु नगरपालिकाका निर्वाचन अधिकृत महेन्द्र पौडेलले जानकारी दिनुभयो । सदर गर्ने मत र बदर गर्ने मतको विषयमा सहमति जुटेपछि मध्यविन्दुको वडा नं १ बाट मतगणना सुरु गरिएको पौडेलले बताउनुभयो । पन्ध्र वटा वडा रहेको मध्यविन्दु नगरपालिकाको मतगणना वडा नं १ मा सकिएपछि १५ को गर्ने र १५ को सकिएपछि २ को गर्ने गरी तयारी भएको पौडेलले बताउनुभयो ।
चौवालीस हजार ९६४ मतदाता रहेको मध्यविन्दु नगरपालिकामा ३२ हजार ८९३ मत खसेको थियो । मतगणना भइरहेको वडा नं १ मा दुई हजार २०८ मत खसेको जिल्ला निर्वाचन अधिकारी लालप्रसाद शर्माले जानकारी दिनुभयो । मध्यविन्दु नगरपालिकामा पाँच दलीय गठबन्धनको तर्फबाट नगरप्रमुखमा नेपाली कांग्रेसका सूर्य गुरुङ र नेकपा (एमाले)का तर्फबाट भीमलाल अधिकारी उम्मेदवार हुनुहुन्छ ।