काठमाडौँ, वैशाख ३१ : काठमाडौँको टोखा नगरपालिकामा नेकपा (एमाले)का उम्मेदवारले अग्रता लिएको छ । स्थानीय तहको शुक्रबार सम्पन्न मतदानको आज दुई हजार २५८ मतगणना हुँदा नेकपा (एमाले)का उम्मेदवार प्रकाश अधिकारीले ९३५ मतका साथ अग्रता लिनुभएको छ ।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी रजनी थापाले ८०१ मत प्राप्त गर्नुभएको टोखाका सहायक निर्वाचन अधिकृत अनिल जोशीले जानकारी दिनुभयो । यस्तै, उपप्रमुखमा पनि नेकपा (एमाले) कै उम्मेदवार ज्ञानमाया डङ्गोलले अग्रता लिनुभएको छ । डङ्गोलले ८७५ मत प्राप्त गर्दा उहाँका प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार मुरारी तामाङले ८०३ मत प्राप्त गर्नुभएको जोशीले बताउनुभयो ।
यस्तै, माओवादी केन्द्रका प्रमुखका उम्मेदवारले १८५ र माओवादी केन्द्रकै उपप्रमुखको उम्मेदवारले २४१ मत प्राप्त गर्नुभएको छ । कूल ११ वडा रहेको टोखामा वडा नं १ र २ को मतगणना भइरहेको छ । उक्त नगरपालिकाको वडा नं १ मा झोर र २ मा टोखाको बजारक्षेत्र पर्दछ । कूल ३४ हजार ६७६ मतदाता रहेको टोखामा २५ हजार ५६० मत खसेको सहायक निर्वाचन अधिकृत जोशीले बताउनुभयो ।