हेटौँडा, वैशाख ३१ : स्थानीय निर्वाचन, २०७९ अन्तर्गत मकवानपुर जिल्लामा सम्पन्न निर्वाचनको मतगणना कार्य सुरु भएको छ । जिल्ला निर्वाचन कार्यालय मकवानपुरको अनुसार स्थानीय तह निर्वाचनको १० वटै पालिकाको मतगणना सुरु भएको हो ।
जिल्लाको १० वटै तहमा शान्तिपूर्णरुपमा सम्पन्न भएको निर्वाचनमा मकवानपुरमा ७१ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौँडाले जनाएको छ । हिजो सम्पन्न निर्वाचनको मतपेटिका सम्बन्धित निर्वाचन कार्यालयमा गए राति नै सुरक्षासाथ आइपुगेको थियो ।
बागमती प्रदेशको राजधानी रहेको हेटौँडा उपमहानगरपालिकाको १९ वटा वडाको मतगणनाका लागि चार वटा कोठा तयार पारिएको अधिकृत श्रेष्ठले जनाउनुभयो । १, २, १८, १९ नम्बर वडाको एकसाथ सुरु गर्ने योजना रहेको मुख्य निर्वाचन अधिकृत डिल्ली श्रेष्ठले बताउनुभयो । मतगणनाको प्रारम्भिक चरणमा हेटौँडामा नेकपा एमाले अग्रता रहेको छ ।
मकवानपुर जिल्लामा मतगणना भएका धेरैजसो स्थानीय तहमा गठबन्धनका उम्मेदवार अगाडि छन् । पहिलो सुरुआती चरणको मतगणनामा एमालेका उमेदवारलाई पछि पार्दै गठबन्धनका उम्मेदवार अगाडि छन् तर, हेटौँडा उपमहानगरपालिकामा भने गठबन्धनका उम्मेदवारलाई पछाडि पार्दै एमालेका उम्मेदवार झिनो मतले अगाडि देखिएका छन् । मकवानपुरको थाहा नगरपालिका, मनहरी गाउँपालिका, मकवानपुरगढी गाउँपालिका, भीमफेदी गाउँपालिका, इन्द्रसरोवर गाउँपालिकालगायतका क्षेत्रमा सुरुआती मतगणनामा गठबन्धन अगाडि देखिएको छ ।
मकवानपुरका १० वटा पालिकामा करिब ७१ प्रतिशत मत खसेको मकवानपुरका मुख्य निर्वाचन अधिकृत श्रेष्ठले जानकारी दिनुभएको छ । मकवानपुरका १० वटै पालिकामा खसेको मतको विवरणअनुसार करिब ७१ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत श्रेष्ठको भनाइ छ । हेटौँडमा भने ६५ प्रतिशतमात्र मत खसेको जनाइएको छ ।