काठमाडौं, वैशाख ३० : शुक्रबार देशभरका २६ मतदानस्थलका ४१ मतदान केन्द्रमा मतदान हुन नसकेको निर्वाचन आयोगले जनाएको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार देशभरका २६ मतदानस्थलका ४१ केन्द्रमा मतदान हुन नसकेको हो । विवाद भएका सबै मतदानस्थलमा शुक्रबार मतदान स्थगित भएको छ ।
अवरुद्ध भएका स्थानमा निर्वाचन अधिकृतको प्रतिवेदनका आधारमा आयोगलाई जानकारी दिएर पुनः मतदान गराउने निर्णय मुख्य निर्वाचन अधिकृतले गर्न सक्नेछन् ।
निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचन, २०७९ निर्वाचन छिटपुट घटनाबाहेक शान्तिपूर्ण र उत्साहजनकरूपमा सम्पन्न भएको जनाएको छ ।
आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले पत्रकारसँग कुरा गर्नुहुँदै केही स्थानमा दल र उम्मेदवारहरूका कारण विवाद भए पनि समग्रमा शान्तिपूर्ण रुपमा मतदान भएको उल्लेख गर्नुभयो ।
उहाँले साँझ ५ बजेसम्म मतदानका लागि समय निर्धारण गरिए पनि सो समयमा मतदान केन्द्रमा प्रवेश गर्ने मतदातालाई मतदान गर्न दिइने भएकाले कूल खसेको मत यकिन सङ्ख्या र प्रतिशत प्राप्त भइनसकेको स्पष्ट पार्नुभयो ।
वर्षाका कारण मतदानमा कुनै गम्भीर असर नपरेको र खटिएका सुरक्षाकर्मी र कर्मचारीबाट आयोगलाई यथेष्ट सहयोग मिलेको बताउँदै प्रवक्ता शर्माले उहाँहरु सबैलाई धन्यवाद दिनुभयो ।
प्रवक्ता शर्माले मतदान सम्पन्न भई सुरक्षितरूपमा मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी गरेर सर्वदलीय छलफलपछि सहरी क्षेत्रमा आजै रातिदेखि मतगणना कार्य सुरु हुने जानकारी दिनुभयो ।
आयोगका अनुसार जुम्ला, सप्तरी, काभ्रे, रौतहट, रामेछाप, बारा, बाजुरा, पर्वतलगायत जिल्लाका केही मतदानस्थलमा विवाद भएका कारण मतदान कार्य अवरुद्ध भएको थियो ।