जनप्रतिनिधि बनेर काम गर्न नसक्नेको विकल्प खोज्नुपर्छ : नेता पौडेल

  बैशाख २७, २०७९

काठमाडौँ, वैशाख २७ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले जनप्रतिनिधि बनेर काम गर्न नसक्नेहरुका लागि विकल्प खोज्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस तारकेश्वर नगर कार्यसमितिले आज आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले पाँच वर्षसम्म जनप्रतिनिधि बनेर विकास र जनताको काम गर्न नसक्नेहरुका लागि विकल्प खोज्नुपर्ने बेला आएको बताउनुभएको हो ।

“झन्डै दुई तिहाइ मत पाएको नेकपा सरकारले विकास निर्माणका काम गर्नुपर्नेमा दुई/दुईपटक संसद् विघटन ग¥यो, जनमत पाएर पनि काम गर्न नसक्नेलाई जनताले फेरि कसरी विश्वास गर्ने ? यसपटक अरूलाई मौका दिनुपर्छ”, उहाँले भन्नुभयो ।

कांग्रेस नेता एवं पूर्वमन्त्री भीमसेनदास प्रधानले प्रदेशसभा तथा प्रतिनिधिसभाको आगामी निर्वाचनमा समेत स्थानीय तहको निर्वाचनको महत्वपूर्ण भूमिका रहने भएकाले स्थानीय निर्वाचनमा कांग्रेस र पाँच दलीय गठबन्धनलाई जिताउनु आवश्यक रहेको बताउनुभयो ।

कांग्रेस तारकेश्वर नगरपालिकाका प्रमुखका उम्मेदवार कृष्णहरि महर्जनले समृद्ध तारकेश्वर निर्माणका लागि आफ्नो उम्मेदवारी भएको बताउनुभयो । सुशासनयुक्त तारकेश्वर, भ्रष्टाचारमुक्त तारकेश्वर निर्माण आफ्नो मुख्य योजना भएको उहाँको भनाइ थियो ।

तपाईको प्रतिक्रिया