काठमाडौँ, वैशाख २७ : स्थानीय तहको निर्वाचन आउन एकाध दिन मात्रै बाँकी छ । नेपालको संविधान जारी भएपछि दोस्रो पटक हुन लागेको स्थानीय तहको निर्वाचनमा मत बदर हुन नदिन आयोगले नमूना मतदान गराइरहेको छ । आयोगले बुधबार र बिहीबार नमूना मतदान गराउने भएको छ । केही स्थानमा यसअघि नै आयोगले नमूना मतदान गराइरहेको छ ।
निर्वाचनमा सत्तारुढ र विपक्षी दुवैको गठबन्धन बनेको छ । त्यसकारण यस पटक बढी मत बदर हुने सम्भावना देखिएको छ । त्यसलाई समाधान गर्नका लागि राजनीतिक दलले पनि प्रयास गरिरहेका छन् । गबठन्धन आबद्ध राजनीतिक दलले स्थानीय तहमा निर्वाचन प्रचारप्रसारको क्रममा नै मतदाता शिक्षासमेत दिइरहेका छन् ।
सत्तारुढ गठबन्धनले छवटा महानगर र ११ उपमहानगरलगायत देशभर नै सहकार्य गरेको छ । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले आज रोल्पामा आयोजित पत्रकार सम्मेलनमा देशभर ६० प्रतिशत स्थानमा गठबन्धन भएको जानकारी दिनुभएको थियो । उहाँले गठबन्धनले मत बदर नहुने गरी निर्वाचनको अभियान सञ्चालन गरिरहेको जानकारीसमेत दिनुभएको थियो ।
गठबन्धनको मत जोगाउन पनि बदर नहुने गरी मतदाता शिक्षाको अभियान सञ्चालन गरिरहेका छन् । काठमाडौँ महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका तर्फबाट सिर्जना सिंह उम्मेदवार हुनुहुन्छ । त्यस्तै, उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी)का तर्फबाट रामेश्वर श्रेष्ठ उम्मेदवार हुनुहुन्छ । केही वडामा गठबन्धनको तर्फबाट साझा उम्मेदवार नहुँदा मत बदर हुने सम्भावना उत्तिकै छ ।
त्यस्तै, भरतपुर महानगरपालिकाको प्रमुखमा रेणु दाहाल र उपप्रमुखमा चित्रसेन अधिकारी उम्मेदवार हुनुहुन्छ । वडा समितिको अध्यक्षलगायत सदस्य पदमा अधिकांश साझा उम्मेदवार भए पनि मतदाता शिक्षाको जरुरी देखिएको सम्बद्ध दलले जनाएका छन् ।
केही दलले श्रव्य दृश्यका माध्यमबाट मतदाता शिक्षा समेत सञ्चालन गरिरहेका छन् । दोलखाको बैतेश्वर गाँउपालिकामा माओवादी र नेकपा (एकीकृत समाजवादी)को साझा उम्मेदवार छन् । निर्वाचन प्रचारको क्रममा नै मतदाता शिक्षासमेत दिइएको र साझा उम्मेदवारलाई मतदान गर्ने तरिकासमेत सिकाइएको अध्यक्षका उम्मेदवार लक्ष्मण खड्काले जानकारी दिनुभयो । “हामीले निवाृचन प्रचार प्रसारको क्रममा नै मतदाता शिक्षासमेतसँगै लगिएका कारण मत बदर हुने मात्रामा कमी आउने उहाँको भनाइ छ ।
विसं २०७४ मा सम्पन्न सङ्घीय र प्रदेशसभा सदस्यको निर्वाचमा पाँच प्रतिशत बराबर मत बदर भएको थियो । हरेक मतदाताको घरघरै गएर मतदाता शिक्षा दिने व्यवस्था भए पनि समय अभावका कारण प्रभावकारी बन्न सकेको छैन । यद्यपि आयोगले मतदाता शिक्षाका लागि अनेक प्रयास गरिरहेको छ । राजनीतिक दल तथा सम्बद्ध उम्मेदवारले पनि मतपत्रमा बहर हुन कम गर्ने उपायको खोजी गरिरहेका छन् ।
गठबन्धन गर्दा हरेक दलका फरकफरक निर्वाचन चिह्न हुने भएकाले पनि मतदाता शिक्षा अझै जरुरी छ । स्थानीय तहमा संयुक्तरूपमा उम्मेदवारी दिएका दल तथा उम्मेदवारको सक्रियता त्यसमा देखिएको छ ।