मतदान अधिकृतलाई तालिम

  बैशाख २५, २०७९

कर्णाली, वैशाख २५ : आसन्न स्थानीय तह निर्वाचनमा खटिने सुर्खेतका मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाई तालिम दिइएको छ । यहाँका २९१ केन्द्रमा खटिने ५८२ जना मतदान अधिकृत÷सहायक मतदान अधिकृतलाई तालिम दिइएको हो ।

मतदान अधिकृत र सहायक मतदान अधिकृतले गर्नुपर्ने काम, कर्तव्य, अधिकारको क्षेत्र, मतपेटिका राख्ने ठाउँ, रुजु गर्ने तरिका, कर्मचारी व्यवस्थापन, मतदान केन्द्रको निर्माण, सुरक्षा व्यवस्थापन, निर्वाचन सामग्री, आचारसंहितालगायतका विषयमा तालिम दिइएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले तालिमसँगै मतदान अधिकृतलाई निर्वाचन सामग्री पनि जिम्मा लगाइएको बताउनुभयो । “स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन मतदान अधिकृतको महत्वपूर्ण भूमिका हुन्छ, मतदान केन्द्रमा पुगेर सरोकारवालासँग सहकार्य र समन्वय गरी कुशलतापूर्वक जिम्मेवारी पूरा गर्नुपर्ने हुन्छ”, उहाँले भन्नुभयो, “निर्वाचन आयोगको सफलता÷असफलता मतदान अधिकृतको भूमिकामा भरपर्ने हुँदा निष्पक्ष र संवेदनशील भएर जिम्मेवारी पूरा गर्न निर्देशित गरेका छौँ ।”

तीन क्लस्टरमा विभाजन गरी दिइएको तालिममा प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, प्रदेश सुशासन केन्द्रका कार्यकारी निर्देशक केशवप्रसाद उपाध्याय, निर्वाचन अधिकृतहरुलगायतले प्रशिक्षण दिनुभएको थियो । मतदान अधिकृत, सहायक मतदान अधिकृतहरुसहित सुरक्षाकर्मीको टोली सोमबारदेखि तोकिएको मतदानस्थलतर्फ प्रस्थान गर्नेछन् । जिल्लाका नौ स्थानीय तहमा १३८ मतदानस्थल छन् । मतदाताको सङ्ख्या भने दुई लाख ३८ हजार ४५७ छ । यहाँ ५१३ पदका लागि दुई हजार ८४ जनाको उम्मेदवारी परेको छ ।

तपाईको प्रतिक्रिया