काठमाडौँ, वैशाख २१ : काठमाडौँको चन्द्रागिरि नगरपालिकामा ५६ मतदान केन्द्र राखिने भएको छ । काठमाडौँ प्रवेशद्वारको मुख्य नाकामा रहेको चन्द्रागिरिमा यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि २२ मतदानस्थलमा ५६ मतदान केन्द्र राखिने चन्द्रागिरि नगरपालिकाका निर्वाचन अधिकृत सिर्जना थपलियाले राससलाई जानकारी दिनुभयो ।
चन्द्रागिरिमा ७७ पदका लागि ३५४ जनाले उम्मेदवारी दिनुभएको छ । जसमध्ये नगरप्रमुखमा २० र उपप्रमुखमा आठजनाले उम्मेदवारी परेको निर्वाचन अधिकृत थपलियाले बताउनुभयो । चन्द्रागिरि नगरपालिकाको स्थानीय निर्वाचनमा पाँच राष्ट्रिय राजनीतिक दल, १० जिल्ला तहका सङ्गठन र नौ स्वतन्त्र उम्मेदवारले भाग लिएका छन् ।
निर्वाचन अधिकृत थपलियाले पछिल्लो समय निर्वाचन कार्यालयले चुनाव चिह्न वितरण, परिचयपत्र वितरण, सवारी पास वितरण, मतदान केन्द्र र मतदानस्थलको अनुगमन, आचारसंहिताको अनुगमनलगायत काम गरिरहेको बताउनुभयो । यस्तै, अब चाँडै नै मतदान अधिकृतका लागि तालिम प्रदान गर्ने निर्वाचन अधिकृत थपलियाले बताउनुभयो ।
काठमाडौँ जिल्लाको दक्षिण पश्चिम भेगका थानकोट, दहचोक, नैकाप, नयाँ भञ्ज्याङ, वाड भञ्ज्याङ, बलम्बु, महादेवस्थान, तीनथाना, सतुङ्गल, मातातीर्थ र मच्छेगाउँ गाविस मिलाएर बनाइएको चन्द्रागिरिमा १५ वडा रहेका छन् ।
उक्त नगरपालिका काठमाडौँ उपत्यकाभित्रकै सबैभन्दा ठूलो नगरपालिका हो । स्थानीय तह निर्वाचनका लागि उक्त नगरपालिकामा कूल ४७ हजार २६४ मतदाता रहेको निर्वाचन कार्यालय चन्द्रागिरिले जनाएको छ । चन्द्रागिरि नगरपालिकाको प्रमुखमा गठबन्धनका तर्फबाट घनश्याम गिरी र उपप्रमुखमा राष्ट्रिय जनमोर्चाका तर्फबाट रोशन दानीले उम्मेदवारी दिनुभएको छ भने नेकपा (एमाले)का तर्फबाट नगरप्रमुखमा उत्तमबहादुर राउत र उपप्रमुखमा वसन्ती श्रेष्ठले उम्मेद्वारी दिनुभएको छ ।