म्याग्दी, वैशाख २० : आसन्न स्थानीय तह चुनावमा म्याग्दीका चार पूर्वसञ्चारकर्मी उम्मेदवार बनेका छन् । नेपाल पत्रकार महासङ्घ म्याग्दीका चार सदस्यमध्ये तीनजना नेकपा (एमाले) र एकजना नेकपा (एकीकृत समाजवादी)बाट उम्मेदवार बनेका छन् ।
महासङ्घको दुई कार्यकाल शाखा अध्यक्ष रहेका सुरत केसीलाई एमालेले बेनी नगरपालिकाको प्रमुखको उम्मेदवार बनाएको छ । यसैगरी साधारण सदस्य प्रेमबहादुर कार्की पनि एमालेबाट रघुगङ्गा गाउँपालिकाको अध्यक्षको उम्मेदवार बन्नुभएको छ ।
शाखाका साधारण सदस्य लोकनाथ भुसाल पर्वतको फलेवास नगरपालिका–४ मुडिकुवाको वडाध्यक्षको उम्मेदवार बन्नुभएको छ । भुसाललाई एकीकृत समाजवादीले उम्मेदवार बनाएको हो ।
यसैगरी शाखाका साधारण सदस्य राजकुमार थापा बेनी नगरपालिका–१ को वडा सदस्यमा एमालेबाट उम्मेदवार बन्नुभएको छ । केसी एमालेको जिल्ला सचिव, थापा उपसचिव, कार्की सचिवालय सदस्य तथा रघुगङ्गा गाउँपालिका कमिटीको अध्यक्ष हुनुहुन्छ ।
नेपाल पत्रकार महासङ्घको विधानअनुसार कुनै पनि राजनीतिक दलको पदाधिकारी र चुनावमा उम्मेदवार बनेमा साधारण सदस्य खारेज हुने व्यवस्था छ । महासङ्घको केन्द्रीय समितिको निर्देशनअनुसार उम्मेदवार बनेका चारै जनाको विवरण केन्द्रीय समितिमा पठाइएको म्याग्दी शाखाले जनाएको छ । म्याग्दीमा हाल पत्रकार महासङ्घको ६२ साधारण सदस्य छन् ।