स्थानीय तह निर्वाचन : गोदावरी नगरमा पूर्वाधार निर्माण प्रमुख एजेण्डा

  बैशाख २०, २०७९

ललितपुर, वैशाख २० : गोदावरी नगरपालिकामा प्रमुखका उम्मेदवारले सडक, ढल, खेलमैदानलगायतका पूर्वाधार निर्माणलाई नै जोड दिएर नागरिकको घरदैलो गरिरहेका छन् । पाँच वर्ष पहिले नगरपालिका बने पनि यस नगरमा आवश्यक पूर्वाधारको विकास हुन सकेको छैन ।

कतिपय वडामा सडक कालोपत्र हुन बाँकी छ भने कतिपयमा पहिले कालोपत्र भएका सडक अहिले भत्किएर नागरिकले कष्ठपूर्णयात्रा गर्न बाध्य भइरहेको छन् । नगरमा अधिकांस स्थानमा ढल निर्माण हुन बाँकी छ । सडकमा बत्ती, पैदलयात्रु मार्ग, खेलमैदान निर्माणलाई पनि उम्मेदवारले प्राथमिकतामा राखेका छन् ।

वितेको पाँच वर्ष पूर्वाधार विकासको जग बसेकोमा त्यसलाई सशक्त रुपमा अघि बढाउने उम्मेदवारको भनाइ रहेको छ । नेपाली कांग्रेसबाट प्रमुखका उम्मेदवार गजेन्द्र महर्जन आफूले पहिलो कार्यकालमा सुरु गरेको पूर्वाधार निर्माणलाई सम्पन्न गर्नुपर्ने भएकाले पनि प्रमुखका रुपमा अझै पाँच वर्ष काम गर्न चाहेको बताउनुभयो । पाँच वर्षको अनुभवका आधारमा आउँदा दिनमा अघि बढ्ने उहाँको योजना छ ।

पूर्वाधार निर्माणको काम ललितपुरको महानगरपालिलगायत अन्य स्थानीय तहसँग दाजेर हेर्दा कम देखिए पनि नयाँ नगर भएकाले शून्यबाट सुरु गरिएकाले आफूले धेरै काम सुरु गरेको उहाँ दावी गर्नुहुन्छ । “कतिपय पूर्वाधार बनेर सञ्चालनमा आइसकेको छ भने कतिपय संरचना बन्ने क्रममा छन्”, उहाँले भन्नुभयो ।

गोदामचौर र विसङ्खुनारायणमा सडक कालोपत्र भइसकेको र देवीचौर, डुकुछापलगायतका ठाउँमा सडक नगरको आन्तरिक स्रोतबाट अघि बढाइएको प्रमुखका उम्मेदवार महर्जनले बताउनुभयो । यी स्थानमा सङ्घीय र प्रदेश सरकारबाट बजेट प्राप्त नभएकाले नगरको आफ्नै आन्तरिक स्रोतले सडक निर्माण सुरु गरेको उहाँले बताउनुभयो । वार्षिक रु ५० लाखका दरले यी सडकमा बजेट छुट्टाएर पहिले चार÷छ मिटर चौडा सडकलाई अहिले आठ मिटर चौडा बनाइएको छ । “अब फेरि विजयी भएपछि त्यो सडक कालोपत्र गर्ने योजना छ”, उहाँले भन्नुभयो ।

नगरको टाखेल–टौखेल सडक पनि गतवर्ष सुरु भए पनि गति लिनसकेको छैन । प्रदेश सरकारले न्यून बजेट छुट्टाएकाले यसले गति लिन नसकेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “ठूला महत्वका योजनामा ठूलो रकम चाहिने भएकाले त्यस्ता सडक नगरको आन्तरिक स्रोतबाट मात्रै बनाउन सक्ने अवस्था छैन ।”

पूर्वाधार विकास शून्यबाट सुरु भएकाले अझै पनि ढल, सडक, सडक बत्तीलगायतका संरचना बनाउन बाँकी रहेको महर्जनले बताउनुभयो । सबै ठाउँमा सडकको दायाँबायाँ हरियालीका लागि वृक्षरोपण गर्ने उहाँले बताउनुभयो । नगरमा आवश्यक पूर्वाधार निर्माण गर्ने र सुन्दर नगर बनाउन आवश्यक प्रक्रिया गरिने उहाँको योजना छ । “अबको दिनमा सडक पेटी, जेब्राक्रस निर्माण गर्ने योजना छ”, उहाँले भन्नुभयो ।

हालसम्म नगरको फोहर उपत्यकाका अरु पालिकामा जसरी नै नुवाकोट लगेर विसर्जन हुँदै आएको छ । आगामी दिनमा नगरभित्रको फोहर व्यवस्थापनका लागि देवीचउरमा आधुनिक प्रशोधन निर्माणको योजना बनाउने उहाँले बताउनुभयो । नगरको गौरबको आयोजनाका रुपमा निर्माण सुरु भएको अन्तर्राष्ट्रियस्तरको मिनि रङ्गशाला अबको कार्यकालमा पूरा गर्ने उहाँले दावी गर्नुभयो । उहाँले भन्नुभयो, “रङ्गशालाले नागरिकको जीवनमा सकारात्मक परिवर्तन ल्याउने आशा गरिएको छ ।”

नेकपा ९एमाले०बाट प्रमुखका उम्मेदवार गम्भिरबहादूर रानाले सडक निर्माण र भइरहेका सडक सुधारलाई नै आफ्नो पहिलो प्राथमिकतामा राख्नुभएको छ । कान्ति लोकपथ खाल्डाखुल्डी हुँदा नागरिकले दुःख पाइरहेको भन्दै उहाँले त्यसमा सुधारका लागि पहल गर्ने बताउनुभयो । सडकमा ड्रेन र ढल नभएकाले कालोपत्र गरेपनि चाँडो भत्कने समस्या रहेकाले आफू निर्वाचित भएपछि यी कुरामा पनि ध्यान दिने उहाँले बताउनुभयो । अहिलेसम्म धेरै सडकमा कालोपत्र गुणस्तरीय नभएकाले अबका दिनमा निगरानी बढाइने योजना उहाँले सुनाउनुभयो । “नगरमा भएका विकास निर्माणमा त्यहाँको वडा कार्यालय र जनप्रतिनिधिले निगरानी बढाउनुपर्छ”, उहाँले भन्नुभयो ।

नगरको केन्द्र रहेको चापागाउँसम्म जाने सातदोबाटो–चापागाउँ सडक साँघुरो र सवारीसाधनको चाप बढिरहेकाले जामको समस्या छ । यो सडकको विकल्प बन्नसक्ने नख्खु करिडोरलाई विकास गरेर जाने उहाँको योजना छ । नख्खु खोलाको क्षेत्र र निजी जग्गा छाडेर सडक निर्माण गरिने उहाँले बताउनुभयो । यो सडक सम्पन्न भएर पूर्णरुपमा सञ्चालनमा आउँदा गोदावरी नगरसँगै ललितपुरका तीन गाउँपालिकालाई समेत सुविधा पुग्नेछ । उहाँले भन्नुभयो, “तीनै पालिकासँग मिलेर यो सडक सञ्चालनमा ल्याउने योजना छ ।”

सडक सबै वर्ग, उमेर समूह र सबैका लागि र अरु विकासका लागिसमेत आवश्यक हुँदा त्यसलाई प्राथमिकता दिइने रानाले बताउनुभयो । उहाँका अनुसार विद्यार्थी, बिरामीे आउजाउ गर्ने तथा तरकारी र फलफूल लैजाने भएकाले पहिलो प्राथमिकता सडकमा छ । अहिले नगरभित्र सार्वजनिक सवारीसाधनको पहुँच सजिलो नभएकाले त्यसतर्फ काम गर्ने उहाँको योजना छ । “यहाँ निजी साझेदारीका रुपमा विभिन्न रुटमा गाडी चलाउन सकिनेछ”, उहाँले भन्नुभयो ।

सातदोबाटो–चापागाउँ सडकमा यात्रुबाहक र मालबाहक दुबै सवारीसाधन गुड्दा एकातिर जामको समस्या र अर्कातिर सडक चाँडो बिग्रिने गरेकाले ती सवारीसाधन छुट्टाछुट्टै रुपमा सञ्चालन गर्न सकिने रानाले बताउनुभयो । खासगरी कार्यालय र विद्यालयका गाडी गुड्ने समयमा मालबाहक सवारीसाधनलाई रोक्ने वा वैकल्पिक सडकमा पठाउने उहाँको योजना छ ।

अहिले विकसित र कम विकसित सबै वडामा एकनासले रकम विनियोजन हुँदा समानुपातिक विकास नभएको भन्दै रानाले समानुपातिक विकासको योजना सुनाउनुभयो । सुगम र दुर्गममा एउटै रकम भएकाले पनि अहिलेको विकास समानुपातिक नभएको उहाँको धारणा छ । सुगम वडा र दुर्गम वडाका फरक फरक आवश्यकता भएकाले त्यसैका आधारमा योजना बनाइने र बजेट विनियोजन गर्ने उहाँको योजना छ । उहाँले भन्नुभयो, “महानगरसँग जोडिएका र विकास भइसकेका ठाउँमा सडक, ढल आबश्यकता छ भने कतै खानेपानी त कतै अरु आबश्यकता हुनसक्छ ।”

नगरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट उम्मेदवार बन्नुभएका राजकुमार महर्जनले अधिकांस ठाउँमा सडक पुगेकाले आफू विजयी भएमा तीनको सुधारमा लाग्ने बताउनुभयो । आफूले ठूला योजना बनाउनेभन्दा पनि समय आएपछि गरेर देखाउने उहाँको भनाइ छ । निर्वाचनमा विजयी हुँदा वा नहुँदा पनि नगरको विकासमा सधैँ लागिपर्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अझै पनि यहाँ शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा सुधार गर्न आवश्यक छ ।” यस नगरमा छ पालिकामध्ये प्रमुखका उम्मेदवार सबैभन्दा बढी २१ रहेका छन् । यहाँ उपप्रमुखमा १०, वडाध्यक्ष ७६, वडा सदस्य ११०, महिला सदस्य ४८ र दलित महिला ३९ गरी ३३६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

तपाईको प्रतिक्रिया