काठमाडौँ, वैशाख १९ : काठमाडौँको टोखा नगरपालिकामा ४० मतदान केन्द्र राखिने भएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखामा यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि १५ मतदानस्थलमा ४० मतदान केन्द्र राखिने टोखा नगरपालिकाका सहायक निर्वाचन अधिकृत अनिलप्रसाद जोशीले जानकारी दिनुभयो ।
टोखामा विभिन्न ५६ पदका लागि २४६ जनाले उम्मेदवारी दिनुभएको छ । नगरप्रमुखमा १५, उपप्रमुखमा ६, वडा अध्यक्षमा ५६, खुला वडा सदस्यमा ९४, महिला वडा सदस्यमा ४४ र दलित महिला सदस्यमा ३१ जनाको उम्मेदवारी परेको जोशीले बताउनुभयो ।
जोशीका अनुसार कूल ५७ पदका लागि निर्वाचन हुनुपर्नेमा एक दलित महिला सदस्य भने निर्विरोध निर्वाचित हुनुभएको छ । उहाँले टोखा–२ का दलित महिला सदस्य लक्ष्मी हिङमाङ निर्विरोध निर्वाचित हुनुभएको जानकारी दिनुभयो । उहाँ नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार हुनुहुन्थ्यो । टोखाको स्थानीय निर्वाचनका लागि १० राजनीतिक दलले भाग लिएका छन् भने अन्य स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् ।
सहायक निर्वाचन अधिकृत जोशीले पछिल्लो समय निर्वाचन कार्यालयले चुनाव चिह्न वितरण, परिचयपत्र वितरण, मतदान केन्द्र र मतदानस्थलको अनुगमन, आचारसंहिताको अनुगमनलगायत काम गरिरहेको बताउनुभयो । साविक झोर महाङ्काल, टोखा चण्डेश्वरी, धापासी, गोँगबुलगायतका गाउँ विकास समितिलाई समेटेर निर्माण भएको टोखा नगरपालिकामा ११ वडा रहेका छन् । उक्त नगरपालिकामा स्थानीय तहको निर्वाचनका लागि कूल ३४ हजार ६७६ मतदाता रहेको निर्वाचन कार्यालय टोखाले जनाएको छ ।
टोखा नगरपालिकको प्रमुखमा नेपाली कांग्रेसको तर्फबाट रजनी थापा र उपप्रमुखमा मुरारी तामाङ तथा नेकपा (एमाले)को तर्फबाट प्रमुखमा प्रकाश अधिकारी र उपप्रमुखमा ज्ञानमाया डङ्गोलले उम्मेदवारी दिनुभएको छ ।