महेन्द्रनगर, वैशाख १९ : नौ वटा पालिका र ९२ वडा रहेको कञ्चनपुर यतिबेला निर्वाचनमय भएको छ । दलबलसहित यहाँका वडादेखि खेतबारीसम्म पुगेर उम्मेदवार मत माग्न सक्रिय छन् । जिल्लामा क्रियाशील प्रमुखदेखि सबैजसो पार्टीका उम्मेदवार आ–आफ्नो पक्षमा जनमत बटुल्न प्रतिबद्धतापत्रदेखि विगतमा गरेका कामको दस्तावेजसहित घरदैलो अभियानमा जुटेका छन् । उम्मेदवारसँगै केन्द्रीय नेतासमेत घरदैलो अभियानमा मत माग्दै हिँडेका छन् । स्थानीय तहको निर्वाचन पनि हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनलाई ध्यानमा राखेर नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)लगायत दलका केन्द्रीयस्तरका नेता यतिबेला घरदैलो गरिरहेका छन् ।
अघिल्लो निर्वाचनमा कञ्चनपुर क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा दीपकप्रकाश भट्टदेखि उहाँसित झिनो मतअन्तरले पराजित कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकसम्मले यहाँ वडा–वडामा पुगेर नगरप्रमुख÷उपप्रमुख, वडा अध्यक्षदेखि सदस्यलाई मत मागिरहेका छन् । पालिका निर्वाचनमा मत माग्न कञ्चनपुरका ३ वटै निर्वाचन क्षेत्रमा केन्द्रीय नेता, प्रतिनिधिसभा सदस्यलगायत सक्रिय छन् ।
प्रतिनिधिसभा सदस्य डा भट्टले पालिकाको निर्वाचनका माध्यमबाट आफू नागरिकको घरदैलोमा पुग्नुका साथै भएका विकास निर्माणको समेत अनुगमन गरिरहेको बताउनुभयो । “पार्टी गतिविधि र चुनावका बेला नै नागरिकसित भेटघाटको अवसर मिल्ने हो ।” उहाँले भन्नुभयो–“अहिले मतदाताले युवा रोजगारीको विषयलाई प्राथमिकताका साथ उठान गरिरहेका छन् ।” उहाँले रोजगारीको विषयमा ठोस् नीति नै बनिनसेकाले बेरोजगारी समस्या हल हुन हुननसकेको बताउनुभयो । नेताहरुलाई पार्टीले हरेक तहमा निर्वाचनका लागि खटाएको उहाँले जानकारी दिनुभयो । भीमदत्त नगरपालिकामा एमाले पोलिटब्युरो सदस्य तथा प्रनितनिधिसभा सदस्य निरु पाल, क्षेत्र नं २ का सांसद नरबहादुर धामीलगायत चुनावी प्रचारमा छन् ।
कांग्रेसबाट भीमदत्त नगरपालिकाका नगरप्रमुखका उम्मेदवार पदम बोगटीले वडा नं १ बाट घरदैलो अभियान सुरु गरेका छन् । उहाँसँगै कांग्रेस नेता रमेश लेखक पनि घरदैलो अभियानमा सहभागी हुनुभएको छ । “केन्द्रीय तहका नेताहरु घरदैलोमा गएर मत माग्नेदेखि भेलालाई सम्बोधन गर्नुका साथै पार्टी प्रवेश गराउने अभियानमा जुट्नुभएको छ”, शुक्लाफाँटा नगरपालिकामा कांग्रेसबाट नगरप्रमुख पदका उम्मेदवार चिन्तामणि भट्टले भन्नुभयो, “सबै नेता आ–आफ्नो क्षेत्रमा जनमत आफ्नो पक्षमा पार्न सक्रिय छन् ।”
कांग्रेस केन्द्रीय सदस्य नारायणप्रकाश साउद पनि जिल्लामा चुनावी प्रचारमा सक्रिय हुनुहुन्छ । दक्षिण क्षेत्रस्थित पालिकामा माओवादी केन्द्रकी नेतृ बिना मगर पनि घरदैलो अभियानमा सक्रिय हुनुहुन्छ । स्थानीय तह निर्वाचनमा माओवादी केन्द्र र एकीकृत समाजवादीले गठबन्धन गरेका छन् । कांग्रेस र एमाले भने एक्लाएक्लै चुनावी मैदानमा छन् । जिल्ला निर्वाचन कार्यालयले निर्वाचनका लागि कञ्चनपुरमा ३४० मतदान केन्द्र तोकेको छ । यहाँ कूल मतदाता सङ्ख्या दुई लाख ९५ हजार ३५४ छ ।