काठमाडौँ, चैत १३ : नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाली जनसम्पर्क समितिले संकलन गरेर पठाएको रकम राष्ट्रिय आविष्कार केन्द्रलाई हस्तान्तरण गरिएको छ ।
नेपाली जनसम्पर्क समिति साइप्रस, संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया र कतारले पठाएको रकम नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार अविष्कार केन्द्रका प्रमुख महावीर पुनलाई हस्तान्तरण गरे ।
पार्टीको विभिन्न सम्पर्क समितिबाट पठाएको एक लाख ३५ हजार ४४१ मा प्रवक्ता शर्माले १० हजार थपेर अविष्कार केन्द्रलाई हस्तान्तरण गरेको हो । प्रवक्ता शर्माले खाडी मुलुकमा काम गर्ने नेपालीले आविष्कार केन्द्रका लागि उठाएर पठाएको रकम हस्तान्तरण गर्न पाउँदा आफूलाई खुशी लागेको बताए । ‘कोरोना संक्रमणबाट लड्न सबै नेपाली हातेमालो गरेर अगाडि बढ्नुपर्छ’, उनले भने ।
केन्द्रका प्रमुख पुनले कोरोना संक्रमणको जोखिमका बीच पनि विदेशमा बसेका नेपालीले केन्द्रलाई सहयोग गरेकोमा धन्यवाद दिए । सबै नेपालीको हातेमालो नै केन्द्र अगाडि बढ्ने उनको भनाइ थियो ।