काठमाडौं, बैशाख १९ : काठमाडौको कीर्तिपुर नगरपालिका प्रमुखमा सत्ता गठबन्धनका दलहरुबीचनै प्रतिस्पर्धा हुँदैछ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनदल विचमै प्रतिस्पर्धाका लागि चुनावी प्रचारप्रसार एवम् घरदैलो कार्यक्रममा व्यस्त हुनुहुन्छ । उहाँहरु आ–आफ्नो प्रतिबद्धता पत्र मतदाता समक्ष राख्दै घरदैलो पुग्नु भएको हो ।
काँग्रेस र जसपा पार्टीबीच गठबन्धन
कीर्तिपुर नगरपालिकाका प्रमुखमा गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका राजकुमार नकर्मी उम्मेदवार हुनुहुन्छ भने उपप्रमुखमा जनता समाजवादी पार्टीका शुभलक्ष्मी शाक्य ‘सुनिता’ हुनुहुन्छ ।
नेपाली काँग्रेसको मुख्य प्रतिस्पर्धा एमालेसँग हुने अवस्था हुँदा हुँदै पनि गठबन्धन हुन नसकेको नकर्मी बताउनुभयो । विगतमा एमालेको नेतृत्वले कीर्तिपुरबासीको माग, भावना अनुरुप काम गर्न नसकेको उहाँको भनाई छ । पार्टीले उठाएको मुद्दा नै चुनाव जित्ने आधार हो, उहाँले भन्नुभयो ।
‘जनता परिवर्तन चाहन्छ, परिवर्तनको सम्वाहक हामीले स्थानीयको पक्षमा प्रतिबद्धता व्यक्त गरेर अघि बढेका छौं । यो प्रतिबद्धता पत्रमा नागरिकले साथ र सहयोग गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
नेकपा (एमाले) बाट केशरत्न बज्राचार्य
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) पार्टीबाट नगरपालिकाको प्रमुख पदका उम्मेदवार केशरत्न बज्राचार्य हुनुहुन्छ । उपप्रमुखमा एमालेका बिन्दु महर्जन हुनुहुन्छ । स्वस्फूर्तरुपमा एमाले उत्साहका साथ चुनावी प्रतिपर्धामा अघि बढेको बज्रचार्य बताउनुहुन्छ । पार्टीले देखेको समृद्ध नेपाल र सुखी नेपालीको उद्देश्य अन्तर्गत समृद्ध कीर्तिपुर बनाउने आधार तयार गरिने उहाँको भनाइ छ । यस अघिको एमालेको स्थानीय सरकारले तय गरेको आधारमा अघि बढ्दै जनमुखी, लोककल्याणकारी कार्यक्रम अघि बढाउने प्रतिबद्धता उहाँको छ ।
नेकपा (माओवादी केन्द्र) बाट शिवशरण महर्जन
गठबन्धन दल नेकपा (माओवादी केन्द्र)का तर्फबाट पनि कीर्तिपुर नगर प्रमुखमा शिवशरण महर्जनले उम्मेदवारी दिनुभएको छ । आ–आफ्नै स्वार्थगत कुरा भएपछि हामी अलग्गै उठ्ने निर्णय गरेको र स्वतन्त्र सक्षम मत प्राप्त गर्ने विश्वास उहाँको छ । माओवादीबाट उपप्रमुखमा भने शुशीला बस्नेत हुनुहुन्छ ।
बुद्धिजीवि, प्राध्यापक, मानव अधिकारका साथसाथै शैक्षिक संस्थासँग आबद्ध रहेर काम गरेको अनुभव उहाँसँग छ । सुशासन एवम् भ्रष्टाचारमुक्त वातावरण, नागरिकको जनजीवनको विकास, शिक्षा, स्वास्थ्य, विकास निर्माण र रोजगारीको व्यवस्था गरिने प्रतिबद्धता उहाँले मतदाता समक्ष राख्नुभएको छ । सेवानिबृत्त जीवन बिताइरहेका महर्जनले प्रमुखमा विजय हासिलपछि आफ्नो पारिश्रमिक तथा तलब सामाजिक सेवामा नै समर्पित गर्ने घोषणा गर्नुभएको छ ।
एकीकृत समाजवादीबाट बटुकृष्ण थापा
नेकपा (एकीकृत समाजवादी)बाट कीर्तिपुर नगर प्रमुखमा बटुकृष्ण थापा उम्मेदवार हुनुहुन्छ । यसैगरी, सोही पार्टीका कमला महर्जन उपप्रमुखमा चुनावी प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । विगतदेखि एकै खालको नेतृत्वबाट स्थानीयबासी उत्साहित बन्न नसकेको र नयाँ पुस्ताको प्रतिनिधित्व गराउने गरी आफू प्रतिस्पर्धामा होमिएको थापा बताउनुहुन्छ ।
यसअघि एमालेको नेतृत्वले पनि आफ्ना प्रतिबद्धता कार्यान्वयन गर्न नसकेको र आफूले पार्टीमा योगदान गरेको लगायत सबै आधारबाट जित्ने आधार तय भएको उहाँको दाबी छ । यहाँका जनताले वामपन्थीका विकल्पमा वामपन्थीलाई नै रोज्छन्, गोरखापत्र अनलाइनमा उल्लेख छ ।