भद्रपुर, चैत १३ : मुलुकमा स्वास्थ्यकर्मीले प्रयोग गर्ने पर्सनल प्रोटेक्टेड इक्विपमेन्ट (पिपिई)को अभाव भइरहेका अवस्थामा झापा मेचीनगर–९ का युवक सागर शिवाकोटीले पिपिई सेटको ‘फेस शिल्ड’ निर्माण गर्नुभएको छ ।
धुलाबारीस्थित हिमालय मल्टिपल कलेजका अध्यापक शिवाकोटीले व्यक्तिगत पहलमा ५३ ‘फेस शिल्ड’ बनाएर स्वास्थ्यकर्मीलाई दिनुभएको छ । उहाँले मेचीनगर नगरपालिकालाई ३३, काँकडभिट्टा स्वास्थ्यचौकीलाई १० र धुलाबारीस्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई १० ‘फेस शिल्ड’ दिनुभएको हो ।
स्थानीयस्तरमा पाइने धागो, कपडा र प्लाष्टिकको टुक्राको प्रयोगबाट बनाइने यस्ता ‘फेस शिल्ड’को लागत बढीमा रु ४८ पर्ने शिवाकोटीले बताउनुभयो । यसले कोरोना जस्ता भाइरस मानिसको अनुहारको नाक, मुख र आँखामा सीधा सम्पर्कमा आउनबाट जोगाउने उहाँको भनाइ छ ।
स्थानीय सरकारले कच्चा सामग्री र सिलाइ गर्ने जनशक्तिका आधारमा यस्तो अति उपयोगी सामग्री बनाउन सक्ने उहाँ बताउनुहुन्छ । यसअघि शिवाकोटी आबद्ध स्थानीय संस्थाले महिनावारीमा प्रयोग हुने स्यानेटरी प्याड प्रयोगपछि नष्ट गर्ने मेशिन निर्माण गरेर विद्यालयमा बिक्री गरेको थियो ।