सुस्ताको पुल आठ वर्षमा ६५ प्रतिशत मात्र निर्माण

  बैशाख १६, २०७९

नवलपरासी, वैशाख १६ : पश्चिम नवलपरासीको सुस्तालाई जोडने नारायणी नदीमा बन्न लागेको पुल आठ वर्ष बितीसक्दा समेत ६५ प्रतिशत मात्र को निर्माण भएको छ ।

नारायणी नदी पारी रहेको सुस्तालाई नेपालसँग जोडिने गरि नवलपरासीको नारायणी नदीमा बनाउन लागेको झोलुंगे पुल पछिल्लो आठ वर्ष देखी निर्माण सुरु भएको थियो । सस्पेन्सन बृज डिविजनका सिनियर डिविजनल ईन्जीनियर गौरी कुमार श्रेष्ठले पुल निर्माणमा ढिलाई भएको स्वीकार गर्दै तत्काल निर्माण सम्पन्न गर्न निर्देशन दिई सकेको बताउनुभयो ।

पुल ३० महिना भित्र निर्माण सम्पन्न गर्ने गरी २०७२ सालमा त्रिशुली जेवी आश्रय कन्स्ट्रक्सन कम्पनीले जिम्मा लिएको थियो । देश कै सबै भन्दा लामो झोलुङगे पुलको रुपमा निर्माण भई रहेको सुस्ता झोलुङगे पुल निर्माणका लागि सम्झौताको समय पटक पटक थप गरेपनि निर्माण पुरा गर्न सकेको छैन ।

भारतीय पक्षले गत मंगलवार विना सुचना नै गण्डक ब्यारेजको ढोका खोली दिए पछि पुल  निर्माण कार्य रोकिएको पुल विभागका सबईन्जीनियर गोपाल थापाले बताउनु भयो । नारायणी नदीमा गण्डक ब्यारेजको पानी छाडिदा पुल निर्माणको काम प्रभावित भएको   थापाले बताउनु भयो ।

एक हजार ५५८ मिटर लामो यो पुलमा १४ वटा पिलरहरु निर्माण हुने छन् । यी मध्ये हालसम्म नौ वटा पिलरहरु निर्माण भई सकेको थापाले जानकारी दिनुभयो । वर्षो देखि अलपत्र अवस्थामा रहेको पुल तत्काल निर्माण सम्पन्न गर्न सुस्ता गाउँपालिका– ५  का स्थानीयवासी कमल हरिजनले माग गर्नुभयो ।

तपाईको प्रतिक्रिया