काठमाडौं, वैशाख १३ : वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि एक लाख ५० हजार ४७९ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । देशभरका महानगर, उपमहानगर, नगर र गाउँपालिकाका प्रमुख र उपप्रमुखसँगै वडाअध्यक्षदेखि सदस्यसम्मले आइतबार र सोमबार मनोनयन दर्ता गराएका हुन् ।
निर्वाचन आयोगका अनुसार स्थानीय तहको चुनावका लागि देशभरबाट महानगर, उपमहानगर र नगरपालिका प्रमुखका लागि ३४ सय बढीले उम्मेदवारी दर्ता गराएका छन् । देशभर ३४ सय ६६ जनाले प्रमुख (मेयर) पदका लागि उम्मेदवारी दर्ता गराएको आयोगले उल्लेख गरेको छ ।
त्यसैगरी उपप्रमुख पदमा २१ सय ३५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । सँगै गाउँपालिका अध्यक्षका लागि ३३ सय ७८ जनाले मनोनयन दर्ता गर्दा उपाध्यक्ष पदमा २३ सय ९२ जनाले मनोनयन दर्ता गराएका छन् ।
आयोगले सार्वजनिक गरेको बुलेटिन अनुसार वडाध्यक्षका लागि ३४ हजार ९४२ जनाले मनोनयन दर्ता गरेका छन्। महिला सदस्यका लागि २६ हजार ६१, दलित महिला सदस्यका लागि २३ हजार ४५६ र खुला सदस्यका लागि ५४ हजार ६४० जनाले उम्मेदवारका लागि मनोनयन दर्ता गराएका छन्।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ताका लागि निर्वाचन आयोगले आइतबार र सोमबार दुई दिन समय दिएको थियो।