कर्णाली, वैशाख १३ : कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले आर्थिक वर्ष ०७६÷०७७÷०७८ मा जुम्लामा सुरु गरेका विद्यालय भवन निर्माण तथा खेलकुद क्षेत्रका कतिपय योजनाहरु बजेट अभावमा अधुरो रहेका छन् ।सामाजिक विकास मन्त्रालयको बजेटमा निर्माण कार्य सुरु गरिएको सरस्वती प्राविधिक मावि कुडारी जुम्लाको छकोठे भवनको निर्माणको योजना पुरा भएको छैन । मन्त्रालयले रु ५० लाखमा विद्यालय भवन निर्माण गर्ने गरी सञ्चालन गरेको उक्त योजना बजेट अभावकै कारण अधुरो अवस्थामा रहेको उक्त विद्यालयका प्रधानाध्यापक रामविलास यादवले जानकारी दिनुभयो ।
मन्त्रालयले आर्थिक वर्ष ०७६÷०७७ मा जुम्लाका आठ विद्यालयमा छकोठे भवन निर्माणका लागि रु ५०÷५० लाख बजेट विनियोजन गरेको थियो । तर तिला गाउँपालिका–३ जुम्ला कुडारीस्थित सरस्वती प्राविधिक माविको निर्माणाधीन छकोठे भवनका लागि मन्त्रालयले पूर्ण भुक्तानी नगर्दा निर्माण अधुरो रहेको प्रधानाध्यापक यादवले बताउनुभयो ।
“अहिलेसम्म पहिलो किस्ता रु १५ लाख, दोस्रो किस्ता रु नौ लाख र तेस्रो किस्ता रु ६ लाख गरी रु ३० लाख बजेट प्राप्त भएको छ,” प्रधानाध्यापक यादवले भन्नुभयो, “कन्टिनजेन्सी रकम काटेर बाँकी रु १८ लाख रकम मन्त्रालयले बेलैमा निकासा नदिँदा निर्माण कार्यमा अवरोध पुगेको छ ।” विद्यालय भवन निर्माण कार्य ८० प्रतिशत भएको उहाँले जनाउनुभयो ।
सामाजिक विकास कार्यालय जुम्लाका प्रमुख तुलराज चौलागार्इंले सरस्वती प्राविधिक मावि कुडारी, रु १४ लाखको कर्णाली हाई अल्टिच्युड टे«निङ सेन्टर र डेढ करोड बराबरको जुम्ला कभर्ड हलको भलिबल प्याराफिट निर्माणको बजेट पठाउन पटक पटक अनुरोध गरिएको बताउनुभयो । “मन्त्रालयले अन्तिम चौमासिकमा रकमान्तरण गरिने आश्वासन दिलाएकाले पैसा आउला भन्ने अपेक्षा गरेका छौँ,” उहाँले भन्नुभयो, “यो चुनावले पनि काम अघि नबढेको हुन सक्छ ।”
सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी रामप्रसाद उपाध्यायले आर्थिक वर्ष ०७६÷०७७ मा सबै पालिकामा नमूना विद्यालय निर्माणका लागि भनेर रु ५० लाखको बजेट विनियोजन भए पनि कोभिड महामारीले निर्माण सम्पन्न हुन नसकेको बताउनुभयो । पछिल्लो समय बजेट थपेर भवन निर्माणका केही योजना सम्बोधन भएको तर केही बाँकी रहेको उहाँले जनाउनुभयो ।उहाँका अनुसार यस वर्ष बजेट सम्बोधन हुन नसके पनि आगामी वर्षमा अधुरो रहेका सबै योजना सम्पन्न गरिनेछ । चालु आवमा बजेट रकमान्तरण हुन सक्ने अवस्था नरहेको सूचना अधिकारी उपाध्यायले बताउनुभयो ।