काठमाडौं, वैशाख १२ : स्थानीय तह निर्वाचन, २०७९ का लागि सत्ता साझेदार दलका तर्फबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले काठमाडौँ महानगरपालिकाको प्रमुखमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।
सोमबार दिउँसो मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रियसभागृहमा पुगेर उहाँले प्रमुखको उम्मेदवारी दर्ता गराउनुभएको हो । उहाँको उम्मेदवारीको प्रस्तावकमा वर्तमान उपप्रमुख हरिप्रभा खड्गी र समर्थक नीलकाजी शाक्य रहनुभएको छ ।
उम्मेदवारी दर्ता गराएपछि प्रतिक्रिया दिँदै उहाँले आफूले महानगरभित्रका गृहिणीका लागि भत्ताको व्यवस्था गर्ने, महानगरवासीलाई वडास्तरबाटै निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने, महिलामैत्री काठमाडौँ निर्माण गर्ने र महानगरका महिला तथा युवा वर्गलाई रोजगारमूलक तालिमको व्यवस्था गर्ने बताउनुभयो ।
आजै काठमाडौँ महानगरपालिकाको उपप्रमुखमा गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी) पार्टीका रामेश्वर श्रेष्ठले उम्मेदवारी दर्ता गराउनुभयो ।
सिंह काँग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहकी श्रीमती हुनुहुन्छ । सर्वोच्च नेता गणेशमान सिंहकी बुहारी सिर्जना सिंह लामो समयदेखि काठमाडौं काँग्रेसमा क्रियाशील हुनुहुन्छ ।
काठमाडौं महानगरमा सत्तारुढ दल काँग्रेस र समाजवादीबीच प्रमुख र उपप्रमुख पदमा तालमेल गर्ने सहमति भएअनुसार सिंह र श्रेष्ठले उम्मेदवारी दर्ता गर्नुभएको हो । नेत्री सिंह पार्टीका नेता तथा कार्यकर्तासहित जुलुस लिएर राष्ट्रिय सभा आइपुग्नुभएको छ ।