काठमाडौँ, वैशाख १२ : स्थानीय तह २०७९ का लागि काठमाडौँ महानगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का तर्फबाट केशव स्थापितले उम्मेदवारी दर्ता गराउनुभएको छ । रत्नपार्कस्थित शान्ति बाटिकाबाट बाजागाजासहित मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको राष्ट्रियसभा गृहमा पुगी उहाँले उम्मेदवारी दर्ता गर्नुभएको हो ।
त्यस्तै एमालेका तर्फबाट महानगरको उपप्रमुखमा सुनिता डङ्गोलले पनि उम्मेदवारी दर्ता गराउनुभयो । उम्मेदवारी दर्तापछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रमुखका उम्मेदवार स्थापितले एकीकृत अवधारणा ल्याउने र महानगरभित्रको शैक्षिक सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यस्तै उपप्रमुखका उम्मेदवार डङ्गोलले काठमाडौँलाई सांस्कृतिक सहरका रुपमा विकास गर्ने बताउनुभयो । एमालेका तर्फबाट प्रमुख उपप्रमुखका उम्मेदवारले मनोनयन दर्ता गरेसँगै गठबन्धनका तर्फबाट प्रमुख र उपप्रमुखलगायतका उम्मेदवारले मनोनयन दर्ताको तयारी गरिरहेका छन् ।
यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि काठमाडौं महानगरपालिकाको प्रमुख र उपप्रमुख पदमा उम्मेदवारी दर्ता गराएको छ । राप्रपाका तर्फबाट प्रमुख पदमा मदन दास श्रेष्ठ र उपप्रमुखमा विनीता मगैयाले मनोनयन गर्नुभएको छ ।
सहायक निर्वाचन अधिकृत कुमार श्रेष्ठका अनुसार मध्याह्न १२ बजेसम्म प्रमुखमा २५ जनाको उम्मेदवारी दर्ता भएको छ । जसमा स्वतन्त्र १६ जना र पार्टी गत नौ जना छन् ।
त्यसैगरी, प्रमुख पदमा पाँच जना महिलाको उम्मेदवारी परेको छ भने २० जना पुरुष छन् । त्यसैगरी, उपप्रमुख पदमा अहिलेसम्म स्वतन्त्र १४ र पार्टीगत पाँच गरी १९ जनाको उम्मेदवारी परेको छ । जसमा पाँच महिला र १४ पुरुष छन् ।
महिला सदस्य, दलित सदस्यलगायतका हालसम्म २३ जनाको उम्मेदवारी परेको सहायक निर्वाचन अधिकृत श्रेष्ठले बताउनुभयो । उम्मेदवारी दर्ताका लागि अहिले राष्ट्रिय सभागृहमा भीड निकै बढेको छ ।