काठमाडौँ, वैशाख ११ :नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले स्वतन्त्र र निष्पक्ष निर्वाचनको जिम्मेवारी पाएको निर्वाचन आयोगलाई कसैको दबाब प्रभावमा नपरी मतपत्र छपाइको व्यवस्था गर्न अनुरोध गरेको छ ।
एमाले कार्यालय सचिव डा भीष्म अधिकारीले ‘मतपत्र डिजायन सम्बन्धमा’ निर्वाचन आयोगलाई पत्राचार गर्दै सो अनुरोध गर्नुभएको हो । भक्तपुरका चार पालिका र ६ महानगरपालिकाको मतपत्र छपाउँदा उम्मेदवारी परेका उम्मेदवारबाहेक अन्यको निर्वाचन चिह्न हटाइ मत्रपत्र छपाई हुने भनी शनिबार केही सञ्चारमाध्यममा प्रकाशित प्रशारित समाचारप्रति ध्यानाकर्षण भएको एमालेले जनाएको छ ।
निर्वाचन आयोगलाई गरिएको पत्राचारमा भनिएको छ, “स्वतन्त्र र निष्पक्ष निर्वाचनको जिम्मेवारी पाएको आयोगबाट कसैको दबाब र प्रभावमा नपरी मतपत्र छपाइमा मुलुकभर जुन तरिका अपनाइएको हो सोही बमोजिम नै व्यवस्था मिलाउनुहुन अनुरोध गर्दछौँ ।”
“निर्वाचन सुरु भइसकेपछि निर्वाचनको नियम परिवर्तन गर्नुहुँदैन र मतपत्रको डिजायन परिवर्तन गर्ने जस्ता काम निर्वाचन आयोगबाट हुने छैन भन्ने कुरामा विश्वस्त छौँ”, पत्रमा उल्लेख छ ।