फागुनको तुलनामा चैतमा तीन अर्ब ३४ करोड ३२ लाख रुपैयाँले घट्यो आयात

  बैशाख १०, २०७९

काठमाडौँ, वैशाख १० : केही वस्तुको आयातमा सरकारले कडाइ गरेपछि चैतमा आयात घटेको छ । भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार फागुन महिनाको तुलनामा चैतमा तीन अर्ब ३४ करोड ३२ लाख रुपियाँले आयात घटेको हो । चैतमा एक खर्ब ५७ अर्ब ९२ करोड रुपियाँको वस्तु आयात भएको छ जब कि फागुनमा एक खर्ब ६१ अर्ब २७ करोड रुपियाँको आयात भएको थियो ।

आयात उकालो लागेर विदेशी मुद्रा सञ्चितिमा दबाब बढेपछि राष्ट्र बैङ्कले गत पुस पहिलो साता आयातमा मार्जिनको व्यवस्था गरेको थियो, जसअनुसार विभिन्न ४७ प्रकारका वस्तुको आयातमा शतप्रतिशत र सवारीसाधनको आयातमा ५० प्रतिशत मार्जिन राख्नुपर्ने प्रावधान गरिएको थियो । त्यसपछि चैतको तेस्रो सातामा राष्ट्र बैङ्कले विलासी वस्तुको आयातमा प्रतीतपत्र (एलसी) नखोल्न बैङ्कलाई निर्देशन दिएको थियो । खासगरी महँगा सवारीसाधन, मोबाइल, टेलिभिजन, सुनलगायतका वस्तुको प्रतीतपत्र खोल्ने काम त्यसयता बन्द छ ।

विदेशी मुद्राको सञ्चितिमा परेको दबाबलाई समाधान गर्न पछिल्लो समय लिइएको यस्तै आयात कडाइका नीतिले चैतमा समग्र आयात केही घटेको पाइएको हो । विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको चैतसम्म कुल अन्तर्राष्ट्रिय व्यापारको आकार १६ खर्ब २७ अर्ब २३ करोड रुपियाँ पुगेको छ । यो अघिल्लो चैतको तुलनामा ३४.९१ प्रतिशतले बढी हो ।

कुल अन्तर्राष्ट्रिय व्यापारमध्ये चैतसम्म नेपालले १४ अर्ब ६६ अर्ब ६६ करोड रुपियाँको वस्तु आयात गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३१.९७ प्रतिशतले बढी हो । त्यतिबेला नेपालले ११ खर्ब ११ अर्ब ३९ करोड रुपियाँको वस्तु आयात गरेको थियो । त्यस्तै चैतसम्म नेपालले एक खर्ब ६० अर्ब ५७ करोड रुपियाँको वस्तु निर्यात गरेको छ । यो अघिल्लो चैतको तुलनामा ६९.४४ प्रतिशतले बढी हो ।

चैतसम्म नेपालको व्यापार घाटा अघिल्लो आर्थिक वर्षको सोही महिनाको तुलनामा २८.४७ प्रतिशतले बढेर १३ खर्ब रुपियाँ नाघेको छ । २०७७ चैतसम्म नेपालको व्यापार घाटा १० खर्ब १६ अर्ब रुपियाँ थियो । एक वर्षकै अन्तरमा व्यापार घाटाको आकार तीन खर्बभन्दा बढीले बढेको छ ।

चालू आर्थिक वर्षको नौ महिनासम्म नेपालले सबैभन्दा धेरै डिजलको आयात गरेको छ । विभागका अनुसार डिजलको आयात एक खर्ब पाँच अर्ब ९७ करोड रुपियाँ पुगेको छ । यो अघिल्लो चैतको तुलनामा अत्यधिक बढी हो । त्यतिबेला नेपालले ५९ अर्ब ७४ करोड रुपियाँको मात्र डिजल आयात गरेको थियो । डिजलपछि सबैभन्दा धेरै पेट्रोल आयातमा ४७ अर्ब २३ करोड रुपियाँ बाहिरिएको छ ।

तेस्रोमा रहेको एलपी ग्यासको आयातमा ४५ अर्ब ३४ करोड रुपियाँ खर्च भएको छ । त्यसपछि नेपालले ३८ अर्ब ५३ करोड रुपियाँको अर्धप्रशोधित फलाम र ३० अर्ब ७५ करोड रुपियाँको कच्चा भटमास तेलको आयात गरेको छ ।

नेपालबाट सर्वाधिक निर्यात हुने वस्तुहरूमा भटमास तेल, पाम तेल, गलैँचा, ऊनी कपडा, सूर्यमुखीको दाना र तेल रहेका छन् । विभागका अनुसार चैतसम्म ४३ अर्ब ३० करोड रुपियाँको भटमास तेल, ३६ अर्ब रुपियाँको प्रशोधित पाम तेल, छ अर्ब ८६ करोड रुपियाँको गलैँचा, चार अर्ब ५६ करोड रुपियाँको ऊनी कपडा र चार अर्ब एक करोड रुपियाँको सूर्यमुखीको निर्यात भएको छ ।

भारत र चीनसँग धेरै व्यापार
चालू आर्थिक वर्षको पहिलो नौ महिनासम्ममा नेपालमा १६२ देशबाट १४ खर्ब ६६ अर्ब रुपियाँभन्दा बढीको आयात भएको छ । सबैभन्दा धेरै आयात भारतबाट भएको छ ।

सो अवधिमा भारतबाट नौ खर्ब १७ अर्ब २४ लाख रुपियाँभन्दा बढीको आयात भएका छ भने एक खर्ब २७ अर्ब ८९ करोड ५४ लाख रुपियाँको निर्यात गरेको छ । नेपालले भारतसँग मात्रै सात खर्ब ७३ अर्ब ८० करोड ७० लाख रुपियाँभन्दा बढीको व्यापार घाटा बेहोरेको छ ।

धेरै आयात भएको दोस्रो मुलुक चीनबाट दुई खर्ब ११ अर्ब पाँच करोड ८० लाख रुपियाँको आयात भएको छ । सोही अवधिमा चीनमा ६२ करोड २८ लाख ६२ हजार रुपियाँको मात्र निर्यात भएको छ । चीनसँग दुई खर्ब १० अर्ब ४२ करोड ५१ लाख रुपियाँ बराबरको व्यापार घाटा रहेको छ ।

दुई खर्बको पेट्रोलियम पदार्थको आयात
भन्सार विभागले सार्वजनिक गरेको व्यापार तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको पहिलो नौ महिनामा झन्डै दुई खर्ब रुपियाँको पेट्रोलियम पदार्थको आयात भएको छ । सो अवधिमा डिजल, पेट्रोल र खाना पकाउने ग्यासका आयात एक खर्ब ९८ अर्ब ५५ करोड ७६ लाख ९३ हजार रुपियाँको भएको गोरखापत्र अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया