सुदूरपश्चिम, वैशाख ८ : आसन्न स्थानीय तहको निर्वाचन प्रयोजनका लागि सुदूरपश्चिम प्रदेशका कैलालीसहितका जिल्लामा आज मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । धनगढीमा कैलाली जिल्लाको मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्लाका अन्य १२ पालिका तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायधीश जयानन्द पनेरुले आज कार्यालय शुभारम्भ गर्दै निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सबैको योगदान हुनुपर्ने बताउनुभयो ।
स्थापना भएको मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचनसम्बन्धी कार्यतालिका, मतदानस्थल र केन्द्रको सूचीसमेत प्रकाशन हुन लागेको छ । यही वैशाख ११ र १२ गते उम्मेदवारीको मनोनयन दर्ता, सोही दिन उम्मेदवारको सूची प्रकाशन, १३ गते उम्मेदवारको विरोधमा उजुरी बारेको प्रक्रिया, १४ र १५ गते उजुरी उपरको छानबिन र जाँच गरी निर्णय गरिने, १६ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन, १७ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने लगायतको निर्वाचन कार्यतालिका छ ।
वैशाख ३० गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदानको समय तोकिएको छ । निर्वाचनको तयारी कैलालीसहितका जिल्लामा तीव्र पारिएको छ । प्रदेश निर्वाचन कार्यालय कैलालीका निमित्त प्रमुख प्रेमराज भट्टले निर्वाचनका लागि आवश्यक पर्ने सबै तयारी तीव्र बनाइएको बताउनुभयो । यस क्रममा निर्वाचनमा खटिने कर्मचारी निर्वाचन अधिकृत लगायतलाई आवश्यक तालिम, प्रशिक्षण जस्ता कार्यक्रम भइरहको उहाँले जानकारी दिनुभयो ।
तयारीका क्रममा बुधबार आयोजित राजनीतिक दलहरुसँगको अन्तक्र्रियामा सहभागीले निर्वाचन आचारसंहिताको पूर्ण कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । निर्वाचनको तयारीको क्रममा सुदूरपश्चिम प्रदेशभरी एक हजार १३५ मतदानस्थलमा दुई हजार १०३ मतदान केन्द्र स्थापना गरिएको छ, भने आवश्यक निर्वाचन सामग्री पालिका तहमा पुर्ययाउन सुरु गरिएको छ ।
प्रदेशमा ८८ स्थानीय तहमा प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्य गरी कुल तीन हजार ८४६ प्रतिनधि छनोट गर्न निर्वाचन हुँदैछ । निर्वाचन सम्पन्न गराउन प्रदेशभरि सुरक्षाकर्मी बाहेक चार हजार बढी कर्मचारीको खटनपटन गर्न लागिएको छ । प्रदेशमा १६ लाख ३२ हजार १५० मतादाता रहेका छन् ।