छाङ्गरु र तिङ्कर मतदानकेन्द्र निरीक्षण

  बैशाख ०८, २०७९

दार्चुला, वैशाख ८ : जिल्लाको सबैभन्दा विकटको मतदान केन्द्र रहेको व्यासमा मतदानस्थल निरीक्षण गरिएको छ । जिल्ला सुरक्षा समितिले हेलिकप्टर प्रयोग गरी आज छाङ्गरु र तिङ्कर मतदानस्थलका साथै नेपाली सेनाको निर्माणाधिन क्याम्प निरीक्षण गरेको हो ।

निरीक्षणका क्रममा व्यास गाउँपालिका वडा नं १ छाङ्गरु र तिङ्करमा मतदान केन्द्रको अवस्था, मतपेटिका ढुवानी, कर्मचारी ढुवानीलगायतको विषयमा जानकारी लिइएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताउनुभयो । छाङ्गरुमा हेलिकप्टर अवतरण गरेर मतदानस्थल निरीक्षण गरिएको उहाँको भनाइ थियोे । उहाँको नेतृत्वमा जिल्लास्थित सुरक्षा निकायका प्रमुख हेलिकप्टरमार्फत छाङ्गरु पुगेका थिए । मतदानस्थलको निरीक्षणसँगै तिङ्करमा प्रहरीचौकी र सशस्त्र प्रहरीको बीओपी स्थापनालगायत विषयमा पनि जानकारी लिइएको थियो ।

नेपालबाटै स्थलगत छाङ्गरु र तिङ्कर जान नसकिने भएकाले हेलिकप्टरमार्फत निर्वाचन सामग्री पठाउने र भण्डारणलगायत सुरक्षा अवस्थाबारे जानकारी लिइएको गरिएको प्रजिअ उपाध्यायले बताउनुभयो ।नेपालतिरबाट हिँडेर जानसमेत पैदल गोरेटो बाटो छैन् । अप्ठ्यारो गरी जाने हो भने पाँच–छ दिन छाङ्गरु र तिङ्कर पुग्न समय लाग्छ । वडा नं १ मा दुई वटा मतदान केन्द्र छन् । छाङ्गरुको कैलाशपति आधारभूत विद्यालयमा ३७५ र तिङ्करस्थित मोति महिला सङ्घ आधारभूत विद्यालयमा २३१ मतदाता छन् ।

यहाँका स्थानीय निकायमा वैशाख १३, १४ र १५ गते कर्मचारी सदरमुकाम खलङ्गा, छाङ्गरु र तिङ्कर उक्लिने तयारीमा छन् । व्यासी सौका समुदायको दोहोरो बस्तीभएका कारण कहिले खलङ्गा र कहिले छाङ्गरु वा तिङ्करमा मतदान हुने गर्दछ । उनीहरुको बसाइँ सर्नुअघि त्यहाँको मतदानस्थल, कर्मचारी पठाउन निरीक्षण गरिएको होे ।

तपाईको प्रतिक्रिया