टीकापुर, वैशाख ८ : सरकार स्थानीय तहको निर्वाचनको तयारीमा छ । सरकारले यही वैशाख ३० गते स्थानीय तह निर्वाचनको मिति तोकेर काम थालेपछि स्थानीयस्तरमा रहेका राजनीतिक दलले पनि आफ्ना गतिविधि बढाएका छन् । स्थानीयस्तरमा नेताहरु उम्मेदवारी दाबी गर्ने र राजनीतिक दल उम्मेदवार छनोटलगायत काममा जुटेका छन् । साथै राजनीतिक दलले मतदातालाई प्रभावित पार्न विभिन्न राजनीतिक कार्यक्रमसमेत गर्न थालेका छन् ।
टीकापुर नगरपालिका–६ की सङ्गीता विश्वकर्मालाई जनताको भावना बुझ्ने, पढेलेखेको, युवालाई साथमा लिएर हिँड्नसक्ने नेता पालिकाको नेतृत्वमा आउनुपर्छ भन्ने लाग्छ । “नेतृत्व शिक्षित हुनुपर्छ, शिक्षितसँगै युवा, महिला, बालबालिकाका भावना बुझ्ने, हामीलाई नगर विकासमा सहभागी गराउनसक्ने योजना भएको नेता चुन्ने योजनामा छौँ”, उहाँ भन्नुहुन्छ, “निर्वाचनमा उम्मेदवार धेरै हुन्छन् । यसपटक नगर विकासका लागि समय दिनसक्ने, सबैको हितमा काम गर्नसक्नेलाई जिताउनुपर्छ भनी हामी सचेत छौँ ।”
नेता व्यक्तिगत स्वार्थ त्यागेको विकासप्रेमी हुनुपर्छ । विकासप्रेमीसँगै नागरिकको भावना सम्बोधन गर्नसक्ने, सबैलाई मिलाएर लैजाने खालको नेता होस् भन्ने सबैको चाहना हुन्छ । नेता नागरिकका सबैखाले अपेक्षा पूरा गर्नसक्ने क्षमताको होस् भन्ने चाहना नागरिकले राखेका छन् । टीकापुर–७ सत्तीकी उषा ढुङ्गानालाई अब आउने नेतृत्व लैङ्गिक संवेदन शीलता बुझेको, सामाजिक कुरीति अन्त गर्नसक्ने र काम गर्ने जोश जाँगर भएको शिक्षित युवा होस् भन्ने लाग्छ । “हाम्रो समाजमा लैङ्गिक समानता नभएका कारण महिला सदियौँदेखि हिंसाबाट पीडित छन्”, ढुङ्गाना भन्नुहुन्छ, “नेतृत्वमा बस्ने लैङ्गिक संवेदनशीता बुझेको हुन आवश्यक छ ।”
नागरिकका असीमित चाहनालाई क्रमशः पूरा गर्नु नेतृत्वको दायित्व भएकाले नेतृत्व छान्दा चुक्न नहुनेमा युवा सचेत छन् । कुरा मात्र गर्नेभन्दा साना साना समस्या र माग पूरा गर्नसक्ने नेता छान्नुपर्ने टीकापुरका सुशील ओझा बताउनुहुन्छ । “कैलालीको समस्या फोहोर व्यवस्थापन, छाडा पशु चौपाया, ढल निकास, सडक बनाउनुपर्नेजस्ता समस्या छन्”, उहाँले भन्नुभयो ।
पालिकाको नेतृत्वमा बसेर निर्णय लिनुपर्ने व्यक्ति कम्तीमा स्नातह तह उत्तीर्ण हुनुपर्ने टीकापुर–५ का रमेश चौधरी बताउनुहुन्छ । “पढेको, अनुभव भएको नेताले पो हिम्मतका साथ काम गर्न सक्छ”, उहाँ भन्नुहुन्छ, “नेतृत्व छान्दा गल्ती भएमा पाँच वर्ष पछुताउनु पर्ने हुन्छ । यसपटक हामी सचेत छौँ ।”
कैलालीकै अर्जुनकुमार वन पनि विकास गर्न सक्ने, हाम्रो नभई राम्रो क्षमता भएको, पढे लेखेको, युवाका भावना समेट्न सक्ने नेतृत्व आवश्यक रहेको बताउनुहुन्छ । “आफन्त, नातेदार हो भनेर सक्षम मानिस छोडेर आफ्नालाई जिताउँदा पछुताउनुबाहेक केही हात लाग्दैन”, उहाँ भन्नुहुन्छ, “पालिकाको नेतृत्वमा जाने सबैको अभिभावक हो । सबैको अभिभावक असल, क्षमतावान्, कुशल हुनुपर्छ । यसका साथै सबै क्षेत्रलाई साथमा लिएर विकासका कार्यमा खट्ने हुनुपर्छ ।”
कैलालीमा १३ स्थानीय तह छन् । यसपटकको निर्वाचनका लागि कैलालीमा ७२ हजार मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार कूल मतदाता सङ्ख्या पाँच लाख २७ हजार ५४८ पुगेको छ । विसं २०७४ को स्थानीय तह निर्वाचनमा मतदाता सङ्ख्या चार लाख ६० हजार ५७८ थियो ।