टक्सार (भोजपरु), १५ वैशाख : आठौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) ले सलहेश फुटबल क्लब सिरहालाई १–० गोलले पराजित गर्दे सेमिफाइन प्रवेश गरेको छ ।
दोस्रो हाफको दुई मिनेटमा एपिएफका लागि प्रदीप लामाले गरेको गोल नै निर्णायक बन्यो । मङ्गलबारको तेस्रो खेल भगवती स्पोर्टस क्लब खोटाङ र नवोबुद्ध फुटबल क्लब सप्तरीबीच हुने आयोजक भोजपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष प्रवीण सुवालले जानकारी दिनुभयो ।
करिब रु ४९ लाखमा भोजपुर नगरपालिका–७ स्थित रङ्गशालामा यही वैशाख १४ गतेदेखि २० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा छिमेकी भारतको जर्जियन फुटबल क्लब, आयोजक भोजपुर जिल्ला फुटबल सङ्घ, सलहेश फुटबल क्लब सिरहा, सशस्त्र प्रहरी बल नेपाल, भगवती स्पोर्टस क्लब खोटाङ, नवोबुद्ध फुटबल क्लब सप्तरी, चर्च ब्वाइज युनाइटेड काठमाडाँै र एलएक्स सिटि मोरङ गरी आठ टिमले सहभागिता जनाएका छन् ।
जिल्ला फुटबल सङ्घको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा प्रत्येक वर्ष जिल्ला सदरमुकाममा सञ्चालन हुँदै आएको प्रतियोगिताका विजेता तथा उपविजेताले उपाधिसहित क्रमशः नगद रु पाँच लाख र तीन लाख पुरस्कार पाउने छन् । अन्य व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षकलाई पुरस्कारको व्यवस्था गरिएकोे आयोजकले जनाएको छ ।
प्रतियोगिताका लागि भोजपुर नगरपालिकाले रु ३० लाख सहयोग गरेको छ । गत वर्षको सातौँ संस्करण चर्च व्वाइज युनाइटेड, काठमाडौँले जितेको थियो ।