‘आन्दोलनरत शिक्षकमाथि दमन होइन, उहाँहरूका माग पूरा गर्नुहोस्’

  ८ घण्टा अगाडि

काठमाडौँ, १५ वैशाख : आन्दोलनरत शिक्षकहरूमाथि सरकारले दमन गरेको भन्दै सांसदहरूले विरोध प्रकट गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा उपलब्ध शून्य समयमा सांसदहरूले आइतबार शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमा सरकारले बल प्रयोग गरेको आरोप लगाउँदै असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँहरूले सरकारले वार्तामार्फत शिक्षकहरूको जायज मागको सम्बोधन गर्न एवं भर्ना र पठनपाठन सुरू गर्ने अवस्था गर्न जोडदार माग गर्नुभयो ।

सांसद प्रकाश ज्वालाले आन्दोलनरत शिक्षकहरूको जायज मागलाई यथाशीघ्र सम्बोधन गर्न सरकारसँग माग गर्नुभयो । “आन्दोलनरत शिक्षकहरूको माग सम्बोधनको सट्टा सरकार राज्य शक्तिको दुरूपयोग गर्दै आन्दोलनकारीमाथि दमन गर्दैछ । आन्दोलनमाथि सरकारी दमनको भत्र्सना गर्दछु”, सांसद ज्वालाले भन्नुभयो । उहाँले पत्रकारको सुरक्षाको सुनिश्चित गर्न माग गर्दै चिकित्सकको आन्दोलनमा समेत ध्यानार्कषण गराउनुभयो ।

सांसद डोलप्रसाद अर्यालले सरकारले आन्दोलनरत शिक्षकहरूमाथि दमन र आफ्नो शक्ति प्रदर्शनमा लागिरहेको आरोप लगाउनुभयो । “हिजो शिक्षकहरूमाथि भएको दमनमाथि रास्वपा गम्भीर ध्यानार्कषण गराउन चाहन्छ”, सांसद अर्यालले भन्नुभयो । उहाँले आगामी बजेटले बूढीगण्डकी जलविद्युत् आयोजनालाई सम्बोधन गर्नुपर्ने सुझाव दिनुभयो ।

सांसद दिलेन्द्रप्रसाद बडूले सरकारलाई आन्दोलनरत पक्षहरूप्रति संवेदनशील, जिम्मेवार र संयमित बन्न सरकारसँग आग्रह गर्नुभयो ।

यस्तै, सांसदहरू डिगबहादुर लिम्बू, नारायणप्रसाद आचार्य, देवप्रसाद तिमिल्सिना, नैनकला थापा, सांसद देवेन्द्र पौडेल, पूर्णबहादुर घर्तीले शिक्षकहरूको जायज मागप्रति एक्यबद्धता जाहेर गर्दै वार्तामार्फत समाधान खोज्नपर्नेमा जोड दिनुभयो ।

बैठकको शून्य समयमा सांसद तारा लामा तामाङले वर्षायाममा सम्भावित विपद् बाढी पहिरोका कारण हुन सक्ने क्षति न्यूनीकरणका लागि राज्यका सरोकारवाला सबै पक्षलाई स्रोतसाधन तयारी अवस्थामा राख्न ध्यानार्कषण गराउनुभयो ।

अर्का सांसद डा तोसिमा कार्कीले चोभारको गल्छी साँघुरो बन्दै गएको र यसले ललितपुरका थुप्रै ठाउँ डुबानमा पर्ने सक्नेतर्फ सचेत गराउनुभयो । उहाँले तत्काल गल्छी फराकिलो बनाउनका लागि ढुङ्गा निकाल्ने अवस्था सिर्जना गर्न सभामुखमार्फत सरकारको ध्यानार्कषण गराउनुभयो । सांसद निशा डाँगीले डिजिटल नेपालको परिकल्पना कार्यान्वयनमा जोड दिनुभयो ।

सांसद दीपकबहादुर सिंहले भ्रष्टाचार न्यूनीकरणका लागि सरकारको ध्यानार्कषण गराउनुभयो । सांसद नागिना यादव, पुष्पबहादुर शाह र प्रतिमा गौतमले नेपाली कांग्रेस सहमहामन्त्रीका छोरा चैत १५ गते कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट लुटपाटमा संलग्न भएको भन्ने अभिव्यक्ति प्रमाणहीन भएको भन्दै आपत्ति जनाउनुभयो । उहाँहरूले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले बिना प्रमाण र आधारहीन आरोपपूर्ण अभिव्यक्ति फिर्ता लिनुपर्ने उहाँहरूले बताउनुभयो ।

यस्तै, सांसद ठाकुरप्रसाद गैरेले पाल्पा जिल्लाको सिद्धेश्वरमा आइतबार राति भएको दुर्घटनामा मृतकहरूको परिवारलाई राहत उपलब्ध गराउन र घाइतेहरूको गराउन माग गर्नुभयो ।

तपाईको प्रतिक्रिया