काठमाडौँ, १४ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष तथा राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले पटक–पटक भएको सङ्घर्षबाट प्राप्त संवैधानिक अधिकारको रक्षाको निम्ति सबै राजनीतिक दल एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ ।
सङ्घीय संसद् राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा दलीय आधारमा सम्बोधन गर्ने क्रममा श्रेष्ठले ठूलो सङ्घर्षबाट प्राप्त अधिकारको रक्षा गर्दै त्यसको कार्यान्वयनको निम्ति पनि गणतन्त्रवादी शक्तिहरु एकीकृत हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
पछिल्लो समय देशको परिस्थिति अत्यन्त गम्भीर र जटिल मोडमा पुगेको उल्लेख गर्दै उहाँले नेपालको सङ्घीय लोकतान्त्रिक, समानुपातिक समावेशी र धर्मनिरपेक्षतालगायत प्राप्त अधिकार जोगाउनु अहिलेको मुख्य चुनौती रेहको बताउनुभयो । उहाँले देशको अहिलेको मुख्य विषय सामाजिक र आर्थिक रुपान्तरण भएको उल्लेख गर्दै राजनीतिक उपलब्धिलाई सामाजिक र आर्थिक क्षेत्रमा विस्तारित गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
सांसद श्रेष्ठले भन्नुभयो, “हामीले राजनीतिक परिवर्तन गरेका छौँ, तर जनताका शिक्षा, स्वास्थ्य, रोजगारको समस्या समाधान गर्न सकेका छैनौँ, जनताले पाउनुपर्ने न्यूनतम सेवा दिन सक्नुपर्छ ।” प्राप्त उपलब्धिलाई ठीक ढङ्गबाट जनतासमामु प¥याउनुपर्ने बताउँदै उहाँले दलहरुले एकता गर्दै समन्वय र सहमति गरेर देशको पक्षमा काम गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “नेपाली जनताले चाहेको र आजको आवश्यकताको स्तरको सामाजिक र आर्थिक रुपान्तरणको प्रक्रियालाई तीव्रताका साथ फड्कोमा पु-याउन नसकेको यर्थात हो, यो कुरालाई हामीले स्वीकार गर्नुपर्छ ।” शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्नुमा जोड दिँदै उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।