१८औँ आउटबाउन्ड ट्राभल तथा पर्यटन सम्पन्न, नेपालले चीनमा खुशी बेच्नसक्ने

  ११ घण्टा अगाडि

वैशाख २४, बेइजिङ : विश्वका ४५ देश तथा क्षेत्रका सहभागीमाझ आइतबार तीन दिने १८औँ चीन आउटबाउन्ड ट्राभल तथा पर्यटन बजार (सीओटीटीएम) सम्पन्न भएको छ । अप्रिल २४ तारिखदेखि बेइजिङस्थित राष्ट्रिय कृषि प्रदर्शनी केन्द्रमा भएको मेलामा नेपालसहित रुस, मंगोलियालगायत चार दर्जन देश र क्षेत्रका पर्यटन सम्बन्धित प्रदर्शकहरूले भाग लिएका थिए ।

सीओटीटीएम नेपालले लामो समयदेखि सहभागिता जनाउँदै आएको पर्यटन सम्बन्धित मेला हो । यसपटकको मेलामा नेपालले पर्यटकीय उत्पादन, विश्व सम्पदा, परिदृष्य, सांस्कृतिक परम्परा, लगायत पर्यटकलाई आकर्षित गर्ने विषयवस्तु प्रस्तुत गरेको छ ।

मेलामा नेपाल पर्यटन बोर्डको नेतृत्वमा अन्य ८ वटा ट्राभल एजेन्सीहरू सहभागी थिए । अहिले प्रविधिको सुविधाका कारण भौतिक रुपमा कमै मात्रै अवलोकनकर्ता मेलास्थलमा आएको एक प्रदर्शकले साझाखबरलाई बताए ।

अन्य देशबाट प्रायः सरकारी पर्यटकीय निकायले सहभागिता जनाएको तर नेपालबाट अधिकांश नीजि ट्राभल एजेन्सी लगायत पर्यटकीय विभागहरूले भाग लिएको सहभागीहरूले बताए । नेपालले पनि पर्यटन विभागको नेतृत्वमा निजी क्षेत्रको साथ लिएर अघि बढ्दा राम्रो हुने उनीहरुको विचार छ ।

पुष्पराज पराजुली/पर्यटन व्यवसायी

जुगल होलिडेज प्रालिका कार्यकारी निर्देशक पुष्पराज पराजुलीका अनुसार नेपालका लागि चीन निकै संभाव्यता बोकेको बजार हो । नेपालको बौद्ध धार्मिक गन्तव्य र नेपालीहरूको खुशी चिनियाँहरूका लागि आकर्षण बन्न सक्छ । उनले भने, ‘बुद्धिज्म, एड्भेन्चर, धार्मिक तथा सांस्कृतिक पर्यटन र सम्पदाका अलावा नेपालीहरूको ह्याप्पीनेश चिनियाँहरूका लागि रुचिको विषय हुनसक्छ ।’ 

नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक सुनिल शर्माका अनुसार चीनसँगको पर्यटकीय हातेमालो नेपालका लागि राम्रो अवसर हो । सन् २०१९ मा चिनियाँहरू नेपाल ओइरिएका थिए भने कोभिडपछि अब त्यस्तो रेकर्ड तोड्नका लागि वातावरण बन्दै गएको उनको भनाइ थियो ।

तपाईको प्रतिक्रिया