प्रधानमन्त्रीसँग एनआरएनए अस्ट्रेलियाका अध्यक्ष पोख्रेलको भेटघाट

  ९ घण्टा अगाडि

काठमाडौँ, १२ वैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीसँग गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अस्ट्रेलियाका अध्यक्ष अनिल पोख्रेलले भेटघाट गर्नुभएको छ । 

गए राति प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा नेपालमा गैरआवासीय नेपालीहरू नेपालमा लगानी बढाउन चाहेको र त्यसका लागि लगानीमैत्री वातावरण बनाउने विषयमा छलफल भएको अध्यक्ष पोख्रेलले जानकारी दिनुभयो । 

“प्रधानमन्त्रीसँग नेपाली समुदायले अस्ट्रेलियाको अर्थतन्त्रमा गरेको योगदानका साथै त्यहाँ रहेका नेपाली समुदायले नेपालको अर्थतन्त्रमा पारेको प्रभावका विषयमा चर्चा भयो”, अध्यक्ष पोख्रेलले भन्नुभयो । 

त्यसअवसरमा व्यापार तथा लगानी प्रवर्धन फ्रेमवर्कको सदुपयोग, दुई देशबिचको द्विपक्षीय सम्बन्ध विस्तार तथा उच्च तहको भ्रमणका विषयमा पनि छलफल भएको उहाँले बताउनुभयो । अध्यक्ष पोख्रेलका अनुसार एनआरएनएको एकीकृत वार्षिक साधारणसभा आयोजना गर्ने विषयमा पनि प्रधानमन्त्रीसँग कुराकानी भएको थियो । (रासस)

तपाईको प्रतिक्रिया