बाढीले भेडीगोठका २६ बाख्रा पुरिए

  बैशाख ०४, २०८२

सिमकोट, (हुम्ला), ४ वैशाख : हुम्लामा आज बिहान अत्यधिक वर्षा हुँदा अदानचुली गाउँपालिका–३ स्थित गोठभित्र पुरिएर २६ बाख्रा मरेका छन् । अदानचुली–३ का आइते बुढाको गोठभित्र रहेका ७० मध्ये २६ वटा बाख्रा बाढीपहिरो आउँदा पुरिएर मरेका हुन् ।

भेडीगोठभित्र पहिरो पस्नुका साथै गोठ भत्किँदा २६ बाख्रा मरेका पीडित किसान बुढाले बताउनुभयो । गोठभित्र रहेकामध्ये २९ वटा बाख्रा गाउँलेको सहयोगमा जीवित निकालिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार बाँकी बाख्रा हराइरहेकाले खोजीकार्य भइरहेको छ ।

एक्कासि आएको वर्षाले ठूलो क्षति गरेको बताउँदै बुढाले दुःखकष्ट र मेहनतका साथ पालिएका बाख्राको गोठभित्र पसेको पहिरोका कारण २६ वटा बाख्रा मरेका र केही बेपत्ता रहेका उल्लेख गर्नुभयो ।

आज बिहान आएको वर्षाले अदानचुली गाउँपालिकाका विभिन्न स्थानमा क्षति पुर्‍याएको छ । बिहान परेको मुसलधारे वर्षाले श्रीनगर बजारमा व्यवसाय गर्दै आएका व्यवसायीका अस्थायी टहरासहित पसलमा राखिएका सामानमा क्षति पुर्‍याएको स्थानीयले बताएका छन् ।

अविरल वर्षापछिको बाढीले अदानचुलीमा ११ पसल, एक घर र एक भेडीगोठमा क्षति पुर्‍याएको जनाउँदै ११ वटा पसल बगाएको सञ्चारकर्मी मोहनसिंह बुढाले बताउनुभयो । वर्षासँगै आएको लेदोसहितको बाढीले अदानचुली–२ अमृत बुढा, अदानचुली–१ का बुद्धि महतारालगायत व्यवसायीका पसलमा क्षति पुर्‍याएको उहाँहरूले जानकारी दिनुभयो । यहाँका अधिकांश घर तथा टहरामा पानी पसेर स्थानीय प्रभावित बनेका छन् ।

तपाईको प्रतिक्रिया