काठमाडौँ, ३० चैत : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बिपी स्मृति सामुदायिक सहकारी अस्पतालको सेवा विस्तारमा पार्टीले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
अस्पताल आज यहाँ आयोजित १७औँ वार्षिक साधारणसभामा उहाँले जननेता बिपी कोइरालाका नाममा अन्य स्थानमा पनि अस्पताल स्थापनाको प्रयास गर्ने बताउनुभयो ।
“सहकारी संस्थाका रुपमा स्थापना भएको अस्पतालमा शेयर होल्डर र जनताको पैसाको सही सदुपयोग हुनुपर्छ”, उहाँले भन्नुभयो । उहाँले देशको स्वास्थ्य क्षेत्रको विकासमा बिपी स्मृति अस्पतालले गरेका कामको सराहना गर्नुभयो ।
पार्टीका नेता डा शेखर कोइरालालेसंविधान संशोधनमा विलम्ब गर्न नहुने बताउनुभयो । “संविधान संशोधनमा जति ढिलाइ हुन्छ, त्यति नै सडकमा आक्रोश बढ्छ”, उहाँले भन्नुभयो । एमालेसँगको सत्ता साझेदारी पार्टी समस्यामा नपरोस् भन्नेतर्फ पार्टी नेतृत्व गम्भीर हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
अस्पताल सञ्चालक समितिका अध्यक्ष उमेशजङ्ग रायमाझीले बिपी स्मृति अस्पताललाई सातै प्रदेशमा विस्तार गरिने बताउनुभयो ।
अस्पताल सञ्चालक समितिका पूर्वअध्यक्षहरु डा केदारनरसिंह केसी, डा सुदामप्रसाद अधिकारी, अस्पतालका शेयरहोल्डर रवीन्द्रनाथ रेग्मीलगायत वक्ताले बिपी कोइरालाका नाममा स्थापित अस्पताललाई चिकित्साको उत्कृष्ट केन्द्र बनाउन सिङ्गो पार्टी लाग्नुपर्ने बताउनुभयो ।