वर्ष २०८१ : चार चलचित्रले गरे रु १० करोड बढीको व्यापार, चलचित्र क्षेत्रमा राहतको अनुभूति

  चैत २७, २०८१

काठमाडौँ, २८ चैत : नेपाली चलचित्र क्षेत्रका लागि वर्ष–२०८१, समग्रमा सुखद रह्यो । यो वर्ष प्रदर्शन भएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ ले घरेलु बजारमा इतिहास रच्न सफल भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको ‘सेन्ट्रल म्यानेज्मेन्ट टिकट सिस्टम’ (बक्स अफिस)मा यस चलचित्रले रु ४६ करोड ८० लाख (ग्रस) कारोबार गरेको तथ्याङ्क छ । जसले विसं २०८१ मा मात्रै नभई नेपाली चलचित्रको इतिहासमै ‘रेकर्ड’ दर्ज गरेको देखिन्छ । यसकारण पनि नेपाली चलचित्रको क्षेत्रमा वर्ष–२०८१ स्मरणयोग्य एवं सुखद रहेको चलचित्रकर्मीहरूको भनाइ छ ।

यसका साथै यस वर्ष चार चलचित्रले रु दश करोडभन्दा बढीको व्यापार (ग्रस) गरी नेपाली ‘सिने’ उद्योगमा सफलता हासिल गरेका छन् । चलचित्र विकास बोर्डकोअनुासर यस वर्ष ६० चलचित्र प्रदर्शन भइसकेका र दुई चलचित्र ‘पिताम्बर’ र ‘कर्मा’ यही चैत २९ गतेदेखि प्रदर्शन हुँदैछ । यसरी स्वदेशी ६२ चलचित्र प्रदर्शन हुँदा विदेशी ८५ को हाराहारीमा प्रदर्शन हुने बोर्डले जनाएको छ । विदेशी चलचित्रको प्रदर्शन अन्तिम समयमा टुङ्गो लाग्ने गरेकाले उल्लिखित अङ्क तलमाथि हुन् सक्ने बोर्डको भनाइ छ ।

‘पूर्णबहादुरको सारङ्गी’ बाहेक यो वर्ष घरेलु बजारमा रु दश करोड बढीको व्यापार गर्ने चार चलचित्रमा ‘१२ गाउँ’, ‘छक्कापञ्जा ५’ र ‘बोक्सीको घर’ रहेको ‘बक्सअफिसमा’ तथ्याङ्क छ ।

यो वर्षको सुरुआती महिना वैशाख १४ मा प्रदर्शन भएको ‘बोक्सीको घर’ ले राम्रो व्यापार गर्न सफल भयो । चलचित्रमा समावेश गीत ‘बुझिन मैले, बुझाइ देऊ कसैले’ सफल हुँदा त्यसको प्रभाव चलचित्रमा प¥यो । अभिनेत्री केकी अधिकारीले अभिनय गर्नुभएको र सुलक्षण भारतीले निर्देशन गर्नुभएको चलचित्रलाई प्रदर्शन अगाडि सामान्य रुपमा हेरिएको थियो । तर, यसले अकल्पनीय व्यापार ग¥यो ।

‘बक्सअफिस’को तथ्याङ्कअनुसार यस चलचित्रको घरेलु बजारमा रु १० करोड २ लाखको व्यापार भएको छ । यो चलचित्र सफलताको श्रेय गीतसङ्गीत र विषयवस्तुलाई जान्छ । त्यसकारण यो वर्ष कलाकारको ‘स्टारडम’ भन्दा ‘कन्टेन्ट’ चलेको वर्षका रुपमा हेर्न सकिन्छ । यसपछि दसैँमा प्रदर्शन भएको ‘१२ गाउँ’ र ‘छक्का पञ्जा– ५’ ले दर्शकको राम्रो साथ पायो ।

‘बक्सअफिस’को तथ्याङ्कअनुसार ‘१२ गाउँ’ ले १९ करोड ९२ लाख र ‘छक्कापञ्जा – ५’ ले १५ करोड २० लाख रुपैयाँ को व्यापार गरेको छ । अन्य चलचित्रको व्यापार बढेता पनि शृङ्खलाबद्ध रुपमा आइरहेको ‘छक्का पञ्जा’ को व्यापार भने अघिल्लोको तुलनामा घटेको छ । यसले बजारको आकार बढ्न अवरोध गर्ने बुझाइ वितरक तथा निर्देशक प्रचण्डमान श्रेष्ठको छ ।

उहाँले नयाँ दर्शकलाई निरन्तर चलचित्र भवनमा आकर्षित गर्न फरक चलचित्र चाहिने बताउनुभयो ।

निर्देशक श्रेष्ठले भन्नुभयो,“लूट चलचित्र प्रदर्शन भएपछि नेपाली चलचित्रमा नयाँ दर्शक बढ्नुका साथै चलचित्र बन्ने शैलीमा पनि परिवर्तन आयो । त्यस्तै एउटा चलचित्र अहिले चाहिएको छ, जसले नयाँ उचाई पाओस् र शैलीमा परिवर्तन गर्दै नयाँ पुस्तालाई दर्शक बनाउन सफल होस् । यस्तो नहुँदासम्म बजारको आकार बढ्नेमा म सहमत छैन, किनकि एक दुई चलचित्रको सफलता भन्दा पनि समग्र वर्षको समीक्षा गरेर हेर्नुपर्छ ।”

यस वर्ष दसैँपछि प्रदर्शन भएको ‘पूर्णबहादुरको सारङ्गी’ ले चलचित्र क्षेत्रलाई चलायमान बनायो । यो चलचित्रको सफलता पुराना निर्मातासँगै नयाँ निर्माता पनि चलचित्र क्षेत्रमा सक्रिय भएको बुझाइ निर्देशक पुर्नेन्दु झाको छ । उहाँले कथा बलियो भएमा कलाकारले अभिनय गर्न सके दर्शकले मन पराउने विश्वास चलचित्रकर्मीमा बढेको बताउनुभयो ।

“निर्माताको समस्यानै चलचित्र निर्माणमा बढेको महङ्गाई हो । कलाकारलाई दिने रकमसँगै अन्य प्राविधिक क्षेत्रमा खर्च बढी हुने भएकाले निर्माताले आँट गर्न नसकेको मैले सुनेको छु । तर, पूर्णबहादुरको सारङ्गीलाई दर्शकले दिनुभएको मायाले अन्य निर्मातालाई अगाडि बढ्न आट दिएको छ । त्यसकारण पनि आउँदो वर्ष धेरै चलचित्र प्रदर्शन हुनेछन्”, उहाँले भन्नुभयो ।

आजसम्मको चलचित्रले घरेलु बजारमा गरेको व्यापारलाई हेर्दा यो ‘अञ्जिला’ पाचौँस्थानमा छ । यसले घरेलु बजारमा सात करोड ५० लाख रुपैयाँ व्यापार गरेको छ । उल्लेखित व्यापारमा निर्धारण गरिएको शुल्क घटाएर वितरकमार्फत चलचित्र निर्माताले रकम पाउने गर्छन् । ‘होली’ पर्वलाई लक्षित गर्दै फागुन २९ मा प्रदर्शन भएको चलचित्र ‘अञ्जिला’ नेपाली राष्ट्रिय महिला फुटवल टिमकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ । खेलाडीको कथालाई पर्दामा रुचाउनु सुखद पक्ष रहेको यसका निर्देशक मिलन चाम्सले बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपालमा खेलाडीको विषयमा चलचित्र बनाउन व्यावसायिक पक्षले रोकेको पाइएको थियो । व्यापार नभएपछि निर्माताले लगानी गर्दैनन् तर अञ्जिलाको व्यापारले अन्य खेलाडीको कथालाई पर्दामा ल्याउन चलचित्रकर्मीलाई आट दिएको छ । आगामी वर्षहरूमा अन्य खेलाडीको कथालाई पनि पर्दामा हेर्न पाइनेमा म विश्वस्त छु ।”

यस वर्ष प्रदर्शन भएको अन्य चलचित्रमा ‘पूजार सार्की’ले सात करोड ३७ लाख, ‘घरज्वाइँ’ ले पाँच करोड ९ लाख, ‘फर्की फर्की’ ले चार करोड ८४ लाख, ‘मनसरा’ ले चार करोड ७८ लाख र ‘लाज शरणम्’ले चार करोड ३४ लाख रुपैयाँको व्यापार (ग्रस) गरेको तथ्याङ्क ‘बक्सअफिस’मा छ ।

तपाईको प्रतिक्रिया