वैदेशिक सहायता घट्दै गयो : परराष्ट्रमन्त्री राणा

  चैत २७, २०८१

काठमाडौँ, २८ चैत : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले अन्तर्राष्ट्रिय स्तरबाट आउने गरेका अनुदानहरु सङ्कुचित हुँदै गएको बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घको ५९ औं वार्षिक साधारणसभा एवम् उद्योग वाणिज्य दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

अन्तर्राष्ट्रिय स्तरबाट आउने अनुदान सङ्कुचित हुँदै गएको र यो भूराजनीतिक कारणले अझै घट्ने सम्भावना रहेको उहाँको भनाइ छ । उहाँले उद्योग वाणिज्य महासङ्घले देशको अर्थतन्त्रलाई अघि बढाउन सघाउ पुर्‍याएको बताउनुभयो ।

सबै नेपाली आर्थिक विकास र प्रगतीको आकाङ्क्षी रहेको बताउँदै ती आकाङ्क्षाहरू निजी क्षेत्रको सक्रियता र सहभागिताबाट मात्रै हासिल गर्न सकिने बताउनुभयो । अधिकतम विकास, विकाशिल राष्ट्रमा उक्लिन नेपालले दिगो विकासका लक्ष्यहरू हासिल गर्नुपर्ने र त्यसका लागि निजी क्षेत्रको साथ सहयोग जरुरी रहेको बताउनुभयो ।

‘‘सबै नेपाली आर्थिक विकास र प्रगतीको आकाङ्क्षी छौं । ती आकाङ्क्षाहरू निजी क्षेत्रको सक्रियता र सहभागिताबाट मात्रै हासिल गर्न सकिने छ । अधिकतम विकास, विकाशिल राष्ट्रमा उक्लिन नेपालले दिगो विकासका लक्ष्यहरू हासिल गर्नुपर्ने छ । द्रुत आर्थिक वृद्धि एवम् विकासको आकङ्क्षा हामीलाई पूरा गर्नु छ ।,’’ परारष्ट्रमन्त्री राणाले भन्नुभयो, ‘‘अब वैदेशिक ऋण अनुदान पहिलाभन्दा कम आउने छ । उनका अनुसार वैदेशिक सहायताको स्थिति कम बन्दै गएको छ । २०४६ सालमा २० अर्बको बजेट हुँदा ५० प्रतिशत वैदेशिक ऋण थियो । २०८१ मा अनुदानको हिस्सा १८ खर्बको बजेटमा १४.४ प्रतिशत थियो । यसको अर्थ, नेपालले आफ्नो राजस्व सङ्कलन बढाएर लगेको देखिन्छ ।’’

उहाँले पुँजीगत खर्च बढाउन जरुरी रहेको र त्यसका लागि सरकार कटिबद्ध रहेको समेत बताउनुभयो । सरकारी स्रोत परिचालनमा देखिएका समस्या नयाँ नभएको बताउँदै उहाँले राजनीति स्थायित्व नहुँदा विगतमा देखिएका समस्या अब हटाइने उद्घोष गर्नुभयो ।

यसैगरी, परराष्ट्रमन्त्री राणा देउवाले मन्त्रालयले आर्थिक कूटनीतिको प्रवर्धन गर्न अलग्गै महाशाखा मार्फत काम सुरु गरेको बताउनुभएको छ । उहाँले नेपालमा लगानीका अधिक सम्भावनाहरु रहेकाले वैदेशिक लगानी भित्र्यान सरकारले आर्थिक कूटनीतिलाई बलियो बनाएर अघि बढ्ने स्पष्ट गर्नुभयो ।

विदेशी लगानीकर्ताहरु नेपालमा लगानी गर्न इच्छुक रहेकाले बढीभन्दा बढी वैदेशिक लगानी भित्र्याउन सरकार र निजी क्षेत्र मिलेर लगानीको उचित वातावरण निर्माण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

मन्त्री डा. रााणाले भन्नुभयो “हालसालै बैंककमा आयोजित बिमस्टेक सम्मेलन होस् या यसअघि प्रधानमन्त्रीज्यूको चीन भ्रमणका क्रममा होस् । नेपालको निजी क्षेत्रले त्यहाँका उद्योगी व्यवसायीहरुसँग अन्तरक्रिया गरेको थियो । त्यस क्रममा म पनि सहभागी थिएँ । उहाँहरु नेपालमा लगानीका लागि इच्छुक रहेको मैले पाएँ । उहाँहरुलाई नेपालमा आकर्षित गर्न हामी सबै लाग्नुपर्दछ ।”

नेपालमा उर्जा, पर्यटन, पर्यटकीय पूर्वाधार निर्माण, सूचना प्रविधि आदि क्षेत्रमा लगानीका प्रसस्त सम्भावना रहेकाले आर्थिक कूटनीतिका माध्यमबाट वैदेशिक लगानी आकर्षित गर्ने काममा आफू कार्यरत रहेको र त्यसमा निजी क्षेत्रको पनि सक्रिय साथ र सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया