धनुषा, २६ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन उपयुक्त समयमा हुने बताउनुभएको छ । मङ्गलबार मधेश प्रदेशसभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले समयको विकास र अनुभवका आधारमा विद्यमान प्रणालीलाई बलियो बनाउन तथा सुशासन र विकासका लागि उचित समयमा संविधान संशोधन हुने स्पष्ट गर्नुभयो । “सामाजिक सद्भाव र राष्ट्रिय एकता बनाउनका लागि उपयुक्त समयमा संविधान संशोधन गर्छाैँ । त्यसका लागि एउटा नेकपा (एमाले) र नेपाली कांग्रेसको यो संयुक्त सरकारबाट राजनीतिक समिति बनाउँछौँ । तर प्यान्डाेराका बाकस खोलेजस्तो गर्दैनौँ । प्रगितमनका लागि ढोका खोल्न संविधान संशोधन गर्दैनौँ ।”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “राजतन्त्र फेरि ल्याउने भनेर केहीकेही लागेका छन् । विगतमा निरङ्कुश राजतन्त्रको कुशासन नदेखेका नयाँ पुस्तालाई भ्रम दिन खोजेका छन् । हामीले नयाँ पुस्ता सचेत बनाउनुपर्छ । आजको सचेत समाजले त्यस्तो सामन्ती व्यवस्था स्वीकार्न सकिँदैन । गणतन्त्र यस देशको वर्तमान र भविष्य हो । प्रतिपक्षी पनि विद्यमान व्यवस्थाको पक्षमा रहनु खुसीको कुरा हो ।”
प्रधानमन्त्री ओलीले लोकतान्त्रिक गणतन्त्रको व्यवस्था जनताको सङ्घर्षको जगमा ल्याइएकाले यस व्यवस्थालाई सुव्यवस्थित बनाएर अगाडि बनाउने काम सबैको भएको उल्लेख गर्नुभयो । “यो श्रेष्ठ प्रणाली हो, हामीले यसको रक्षा गर्नुपर्छ । कलिलो अवस्थाको व्यवस्थाका केही कमजोरी भए होलान् तर सुधार गरेर जानुको विकल्प छैन ।”, उहाँले भन्नुभयो, “हामी अब गतिमा गइसकेका छौँ । यस प्रणालीअन्तर्गत संसदको शपथ खाने अनि बाहिर गएर संविधान मान्दिनँ भन्ने खालका सोच राख्नु हुँदैन ।” गोरखापत्र अनलाइन
प्रधानमन्त्री ओलीले अनावश्यक हल्ला चलाइएको भए पनि दुई छिमेकीसँग हाम्रो राम्रो सम्बन्ध रहेको बताउनुभयो । “सँगै सुतेपछि खुट्टा लाग्छ, खुट्टा हटाउ भनेपछि कुरा सकिन्छ । त्यसकारण नेपालको दुई छिमेकीसँग असल मित्रता छ ।”
उहाँले यो प्रणाली उत्तम रहेको र यसै प्रणाली मार्फत प्रदेशसभासहितका संरचना निमार्ण भएको बताउनुभयो । प्रधानमन्त्री ओलीले राजतन्त्र समान्ती प्रणाली भएकाले नयाँ पुस्तालाई राजतन्त्रको बारेमा जानकारी नभएको बताउनुभयो ।
देशका समस्या समाधानका लागि कांग्रेस एमालेको वर्तमान समीकरण निमार्ण भएको र यो २०८४ सालको निर्वाचनसम्म रहने दाबी प्रधानमन्त्री ओलीले प्रष्ट पार्नुभयो ।
प्रधानमन्त्रीले मधेश प्रदेश सरकारले सामाजिक सुधारका कामलाई प्राथमिकताका साथ अगाडि बढाउनु पर्नेमा जोड दिँदै समाजमा रहेका अन्धविश्वास कुरिती र कुचलनलाई जनचेतनाको माध्यमबाट हटाउनु पर्नेमा जोड दिनुभयो । उहाँले मधेश प्रदेशलाई नमुना प्रदेशको रूपमा विकास गर्नु पर्नेमा जोड दिनुभयो ।
प्रधानमन्त्री ओलीलाई जनकपुरधाम विमानस्थालमा मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंह सहितका प्रदेश सरकारका मन्त्रीले स्वागत गर्नुभएको थियो । प्रदेशसभामा मधेश प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले स्वागत गर्नुभएको थियो ।