काठमाडौँ, २४ चैत : अफगानिस्तान यु–१९ टोलीविरुद्धको एकदिवसीय शृङ्खलामा नेपाल लगातार पराजित भएको छ । आज भएको दोस्रो खेलमा नेपाली यु–१९ टोली अफगानिस्तानसँग एक रनले पराजित भएको हो । योसँगै अफगानिस्तानले नेपालविरुद्धको शृङ्खला एक खेल अगावै जितेको छ । यसअघि पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १३० रनले पराजित भएको थियो ।
मूलपानी क्रिकेट मैदानमा टस जितेर अफगानिस्तानले पहिला ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा सवै विकेट गुमाएर १६८ रन बनायो । एक सय ६९ रनको लक्ष्य पछ्याएको नेपालले ४९.३ ओभरमा सबै विकेट गुमाउँदै १६७ रन मात्र बनाउन सक्यो । नेपालका लागि साहिल पटेलले ११९ बलमा ६ चौकाको मद्दतले सर्वाधिक ६४ रनको योगदान दिए । यसैगरी अभिषेक तिवारीले २०, निरजकुमार यादवले १५ तथा कप्तान नरेन भट्टले १३ रन बनाए ।
बलिङतर्फ अफगानिस्तानका लागि वाहिदुल्लाह जाद्रन, जाइतुल्लाह शहिन र हाफिज जाद्रनले दुई दुई तथा रोहुल्लाह अरब, कप्तान महबुब खान र उजाइरुल्लाह नियाजाइले समान एक एक विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ गर्ने क्रममा अफगानिस्तानका लागि कप्तान महबुब खानले ११४ बलमा एक चौकाको मद्दतले सर्वाधिक ५८ रनको योगदान दिए । यसैगरी रोहुल्लाह अरबले २७, उजाइरुल्लाह नियाजाइले १९, नजिफुल्लाह अमिरीले १६, खतिर स्तानिकजाइले ११ र खालिद अहमदजाईले १० रन बनाए ।
बलिङतर्फ नेपालका लागि सन्तोष यादवले तीन, सिब्रिन श्रेष्ठ र विपिनप्रसाद शर्माले दुई दुई तथा अभिषेक तिवारीले एक विकेट लिए । शृङ्खलाको अन्तिम खेल यही चैत २७ गते हुनेछ ।