पूर्वराजाले सम्झौता उल्लङ्घन गर्नुभयो : प्रधानमन्त्री

  चैत १७, २०८१

काठमाडौं, १८ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहले संविधानसभाको ऐतिहासिक निर्णयपछि भएको सम्झौताको उल्लङ्घन गर्नुभएको बताउनुभएको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

त्यस्तै, यही चैत १५ गते भएको घटनाबारे जानकारी दिनुहुँदै उहाँले यी सबै घटनाको मुल जिम्मेवार उहाँ हो, उहाँले लिनुपर्ने समेत बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘आपराधिक घटनमा संलग्न कसैले पनि उन्मुक्ति पाउँदैन, पाउनु हुन्न । यसमा पूर्व राजा शाहले पनि उन्मुक्ति पाउनु हुन्न । फेरि राजा बन्छु, व्यवस्था मास्छु भन्नेले यी सबै शृङ्खलाबद्ध घटनामा आफ्नो धारणा सार्वजनिक गर्नुपर्दैन ? मानिसलाई मर्नलाई दुरुत्साहन गर्ने जनकमाण्डर, इतिहासले कुनामा फ्याँकेका व्यक्ति अभियानका संयोजक, धनजनको क्षति र लुटापाट– शासक बन्ने मनसुवा बोक्ने व्यक्ति सिरकभित्र चुपचाप कसरी हुन सक्छ ?’’

प्रधानमन्त्री ओलीले तीनकुले घटना सबै निन्दनीय र खेदजनक कार्य भएको बताउनुभएको छ । उहाँले यस्ता घटनामा संलग्नहरुमाथि जोसुकै होउन्, जुनसुकै कभरमा किन नहोउन्, कडा प्रशासनिक कारबाही हुने जानकारी दिनुभयो । घटनाको विस्तृत विवरण उपयुक्त समयमा गृहमन्त्रीले सदनमा राख्नु हुने जानकारी पनि उहाँले दिनुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो, ‘‘घटनामा संलग्नहरुमाथि छानबीन सुरु भएको छ । यसका योजनाकार को हुन् र को को संलग्न छन् ? सरकारले यस सन्दर्भमा छानबिन र अनुसन्धान गरिरहेको छ । विस्तृत प्रतिवेदनपछि आउने मैले बताइसकेको छुु ।’’

त्यस्तै, केही दिनयता संसद अवरुद्ध छ । सुशासन र त्यसमा कम्प्रमाइज भएका विषयमा प्रश्न उठ्नु स्वभाविक हो । सरकारका कामकारबाहीप्रति प्रश्न उठाउने वा समर्थन गर्ने स्थल नै यस सम्मानित सदन रहेको प्रधानमन्त्रले बताउनुभयो ।

तपाईको प्रतिक्रिया