खैरहनीमा विपन्न बालबालिकालाई पोषण अनुदान

  चैत १५, २०८१

चितवन, १६ चैत : खैरहनी नगरपालिकाले विपन्न बालबालिकालाई पोषणमा अनुदान दिन थालेको छ । पालिकाले छ महिनादेखि तीन वर्ष उमेरसम्मका विपन्न परिवारका बालबालिकालाई पोषण अनुदान दिन थालेको हो ।

नगरपालिकाले विपन्न परिवारका बालबालिकालाई दैनिक एक अण्डा र एक गिलास दूध बराबरको लागत अनुमानअनुसार दैनिक रु ४० का दरले प्रतिबालबालिका मासिक रु एक हजार २०० अनुदान लाभग्राहीका अभिभावकको बैंक खातामार्फत उपलब्ध गराउन थालेको हो ।

नगरपालिकाभित्र स्थायी रुपमा बसोबास गर्ने अतिविपन्न घरपरिवारका बालबालिकाको पोषणमा सुधार ल्याई सक्षम जनशक्ति विकास गर्न बालबालिकालाई पोषण अनुदान प्रदान गर्न सुरु गरेको नगर प्रमुख शशिकुमार खनियाँले बताउनुभयो । यस आर्थिक वर्षमा ९७ बालबालिकालाई पोषणबापतको रकम प्रदान गरिएको हो ।

खनियाँले बालबालिकाको पोषण सुधार मुलुकको भविष्य निर्माणको महत्त्वपूर्ण आधार भएको बताउनुभयो । उहाँले विपन्न बालबालिकाको पोषण अनुदान सम्बन्धित अभिभावकलाई प्रदान गरिने र प्राप्त अनुदान रकम केबल बाल्यकालीन पोषणमा खर्च गर्नुपर्ने, अनुगमनको क्रममा मद्यपान, धूमपानजस्ता कुलत तथा अन्य घर खर्चमा प्रयोग गरेको पाइएमा अनुदान कटौतीसम्म हुनसक्ने बताउनुभयो ।

नगर उपप्रमुख कविता उप्रेतीले दुई वर्षसम्म बालबालिकाको ८० प्रतिशत र पाँच वर्षसम्म ९० प्रतिशत मानसिक विकास हुने तथा मानसिक र शारीरिक विकासमा पोषणको अत्यन्तै उच्च महत्त्व रहने भएकाले नगरपालिकाले पोषण कार्यक्रम सञ्चालन गरेको बताउनुभयो ।

विपन्न परिवारका बालबालिकाको पोषण अनुदानका लागि वार्षिक करिब रु १५ लाख खर्च हुने र आगामी वर्षदेखि वार्षिक रु २० लाखभन्दा बढी रकम अनुदानमा खर्च हुने प्रक्षेपण गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भोजराज खनालले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया