देश र जनताको हितका लागि काम गर्नुपर्छ : प्रधानमन्त्री

  १५ घण्टा अगाडि

काठमाडौँ, १२ चैत : प्रधानमन्त्री केपी शर्माले देश र जनताको हितका लागि इमान्दारिताका साथ काम गरिरहेको बताउनु भएको छ । उहाँले साना तिना कुरालाई उचाल्ने कार्य भइरहेको छ भन्दै सबै मिलेर देश र जनताको हितको लागि काम गर्नुपर्नेमा जाेड दिनुभएको हो ।  

प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाद्वारा लिखित पुस्तक ‘म र मेरो सानोबुबा आत्मकथा’ को लोकार्पण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । 

नेपाल विद्युुत प्राधिकरणबाट कुलमान घिसिङलाई हटाएको विषयप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले  तिललाई पहाड बनाउने काम भइरहेको बताउनुभएको हो।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘‘मैले आइडोलोजी त्यति धेरै हेर्दिनँ, देशप्रतिको निष्ठा हेर्दछु । आइडोलोजी आफ्नो आफ्नो हुनसक्छन् । देश साझा हो । तरिका सोच फरक फरक हुनसक्छन् तर गन्तव्य एउटै हो देश । देश कसरी बनाउने भन्ने कुरा हो । ससाना कुरालाई तिलको पहाड बनाएका छन् । पहिला पहिला तिलका तहाड बनायो भन्थे । तिललाई नै पहाड बनाउने चलन छ । त्यसैलाई समातेर खुब हल्लाखल्ला गर्ने चलन छ ।’’ 

हामीले देश र जनताको हितका लागि इमान्दारिताका साथ काम गर्नुपर्छ भन्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘‘अहिले पनि केही सानो एउटा त्यान्द्रो विषय पाएका जस्तो लाग्यो, केही मानिस उफ्रिरहेका छन्, कुदिरहेका छन् । के पायाैँ के पायौँ, इस्यु भेटियो भनेर हिजैदेखि वक्तव्यबाजी सुरु भएको छ । यही त्यन्द्रोे हो । यही डोरीलाई नाग बनाउनुपर्छ भनेर कुदेका छन् । कोही के भनेर कुदेका छन् । केही अर्थ छैन ।’’

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘‘एकजना मित्रको मैले स्टाटस पढेको थिएँ । त्यहाँबाट अवकाश प्राप्त भइसकेको मान्छेलाई त्यहीँबाट हुर्किएर आएर त्यहीँ कुनै बाहिरबाट खोजेर ल्याएको होइन, त्यहीँको क्याडरलाई नियुक्ति दिएको हो, बाहिरबाट कतैबाट खोजेर ल्याएर होइन । त्यस्तो मान्छे निस्कासन गर्नुभयो । अर्को ठाउँमा निकम्भा बनाएर सरुवा भनेर राखिदिनु भयो । रिटायर्ड मान्छेलाई ल्याएर राखिदिनु भयो । उहाँले उज्यालो ल्याउनुभयो भनेर व्याख्या गर्नुभएछ । अघिल्लो चार वर्षको कार्यकाल पूरै त्यहीँ काम गर्नुभएको हो । त्यसबेला ल्याउनु भएको थियो कि उहाँले नियुक्त गर्ने बित्तिकै आगो बोकेर आउनुभयो, बिजुली, चिम, ट्रान्समिसन लाइन बोकेर आउनुभयो कि ? वर्षौँ लगाएर जे काम गरिएको हुन्छ, त्यसलाई जादु, चमत्कारको रुपमा व्याख्या गर्ने । कोही पनि साथीहरुलाई यस्ता कुराको भ्रममा नपर्न आग्रह गर्न चाहन्छु ।’’

प्रधानमन्त्री ओलीले एउटा व्यक्तिलाई मानेर, एउटा संस्था र एउटा व्यक्तिका खानदानलाई मानेर हिँड्ने सामन्ती चिन्तनमा अबको युग जान सक्दैन भन्नुभयो । लोकतन्त्र दुनियाँको सबैभन्दा राम्रो प्रणाली भएको दाबी गर्दै प्रधानमन्त्री ओलीले अझै यसलाई परिष्कृत गर्दै अघि बढाउने बताउनु भयो । 

 काँग्रेसको पूर्ण समर्थन  : सभापति देउवा 

सोही कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली काँग्रेसको पूर्ण समर्थन रहेको बताउनु भएको छ । उहाँले आफू र प्रधानमन्त्री ओली जेलमा सँगै बसेको त्यही बेलादेखिको साथी भएको चर्चा गर्दै आफूहरुबीच राजनीति फरक ठाउँमा रहे पनि मित्रवत भावना रहेको उल्लेख गर्नुभयो । 

पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला अत्यन्तै जुझारु, जोशिलो र लडाकु नेता भएको उल्लेख गर्दै सभापति देउवाले उहाँजस्तो कहिल्यै नथाक्ने नेता मैले कहिल्यै देखेको थिइनँ भन्नुभयो ।

सभापति देउवाले भन्नुभयो, ‘‘गिरिजाबाबु र मेराबीच धेरै उतार चढाव आए, उहाँले मलाई पार्टीबाट निकाल्नु भयो, मैले पार्टी फोडेँ, फेरि एकता गरौं भन्नुभयोे एकता गरेँ, म नेपाली कांग्रेसको पार्टी सभापति हुन पनि उहाँको ठूलो सहयोग रहेको छ, उहाँ हिम्मतदार र डाइनामिक नेता हुुनुहुन्थ्यो ।’’ 

उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीसँग जेल बस्दादेखिकै सम्बन्ध राम्रो छ, अहिलेको सरकारलाई कांग्रेसको पूरापुर सहयोग रहन्छ भन्नुभयो । 

कांग्रेसका पूर्व महामन्त्री एवम् सांसद डा. शशांक कोइरालाले गिरिजाप्रसाद कोइराला कुशल संगठनकर्ता रहेको चर्चा गर्दै भन्नुभयो, ‘‘साइकलमा चढेर एउटा हातमा माइक लिएर हिँडेपछि घुमेर सात दिनपछि घर फर्कनु हुन्थ्यो, उहाँमा रहेको क्रान्तिकारी सोचकै कारण २०४८ देखि २०५१ सम्म देशमा आएको उदारीकरण र आर्थिक वृद्धि नेपालको इतिहासकै स्वर्ण अवधि हो, त्यसैको जगमा अहिलेको नेपाल अगाडि बढिरहेको छ । उहाँ नथाक्ने र नझुक्ने नेता हुनुहुन्थ्यो ।’’ 

नेपाली कांग्रेसका नेता एवम् सांसद डा. शेखर कोइरालाले गिरिजाबाबु नेपालको उदारीकरणको नायक भएको चर्चा गर्दै आधुनिक नेपालको इतिहासमा नयाँ छाप छाडेर जान सफल हुनुभएको बताउनु भयो । उहाँले गिरिजाबाबु बालबालिका भनेपछि हुरुक्कै हुने नेता भएको स्मरण गर्नुभयो । 

‘म र सानो बुवा’ का लेखक एवम् पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले प्रधानमन्त्री ओली विकासप्रेमी नेता र सभापति देउवा सङ्घर्षशील नेता हुनुहुन्छ, दुवै मिलेर ठूलो सङ्घर्षबाट प्राप्त उपलब्धिहरूको रक्षा गर्न सक्षम हुने विश्वास व्यक्त गर्नुभयो । पुस्तक आफू क्यान्सरबाट थला परेका बेलामा जन्मेको हो भन्दै कमीकमजोरी सच्चाएर अर्को पुस्तक पनि आउने जानकारी उहाँले दिनुभयो ।

पूर्व सांसद डा. शोभाकर पराजुलीले पाँच पटक प्रधानमन्त्री बनेका गिरिजाप्रसाद कोइरालाकी छोरीले लेखेको पुस्तक प्रेरणास्पद रहेको छ भन्नु भयो । कार्यक्रममा प्रधानमन्त्री ओलीले कोइरालाको पुस्तक प्रकाशनमा विभिन्न तरिकाले सहयोग गर्ने महानुभावलाई सम्मानपत्र प्रदान गर्नुभयो । 

गिरिजाप्रसाद कोइराला फाउन्डेसन फर फाउन्डेसन फर डेमोक्रेसी, पिस एण्ड डेभलपमेन्ट प्रकाशक गरेको पुस्तक २६० पृष्ठको छ । सुजाता कोइराला गिरिजाप्रसाद कोइरालाकी छोरी हुनुहुन्छ । पुस्तकमा कोइराला परिवारका कुरादेखि नेपालको राजनीतिक उतार चढावका समयमा भोगेका भोगाइ समेटिएका छन् । पुस्तकमा केही पारिवारिक र ऐतिहासिक तस्बिर समेटिएका छन् । कार्यक्रम नेपाली कांग्रेसका पूर्व सभापति एवम् पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १५ औं स्मृति दिवसका सन्दर्भमा आयोजना गरिएको हो । गोरखापत्र अनलाइन

तपाईको प्रतिक्रिया