प्लाई उद्योगमा आगलागी : ३२ घण्टा बित्दा पनि आएन नियन्त्रणमा

  चैत ११, २०८१

घोराही, १२ चैत : दाङको घोराही उपमहानगरपालिका–९ खैरामा रहेको गणपति भेनियर तथा साङ्ग्रीला प्लाई उद्योगमा लागेको आगो अझै पूर्णरुपमा नियन्त्रणमा आउन सकेको छैन । उद्योगमा आगलागी भएको करिब ३२ घण्टा बितिसक्दा पनि आगलागी पूर्णरुपमा नियन्त्रणमा आउन नसकेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जानकारी दिनभएको छ । उहाँका अनुसार आगो करिब ९० प्रतिशत नियन्त्रणमा रहे पनि पूर्णरुपमा अझै आइसकेको छैन ।

आगो नियन्त्रणका लागि सोमबार बिहान २ बजेदेखि निरन्तर प्रयास जारी रहेपनि पूर्णरुपमा अझै आगो नियन्त्रण नआएको बताउनुभयो । उहाँले आगो निभाउँदै जलेका सामग्री पन्छाउदै अगाडि बढ्नुपर्ने भएका कारण आगो पूर्णरुपमा नियन्त्रणमा आउन समय लागेको र रातभर पनि आगो निभाउने काम भइरहेको प्रमुख जिल्ला अधिकारी लम्सालले बताउनुभयो । उहाँले आगलागीबाट उद्योगका सबै सामग्री नष्ट भएका छन् ।

उद्योगमा चिरान गरिएको काठसँगै प्रज्वलनशील वस्तु राखिएका कारण आगो नियन्त्रणका लागि प्रयास गर्दा पनि नियन्त्रणमा आउन ढिलाई भएको र अहिलेसम्म ९० प्रतिशत आगो नियन्त्रण भएको उहाँको भनाइ छ ।

आगो नियन्त्रणका लागि नेपाल प्रहरी, सेना र सशस्त्र प्रहरीसँगै वनको डढेलो नियन्त्रण टोली गरेर करिब दुई सय जनाको टोली आगलागी नियन्त्रणका लागि प्रयास गरिरहेका छन् । उहाँले भन्नुभयो, ‘‘आगो नियन्त्रणका लागि रातिभरी पनि सुरक्षा निकायको टोलीले काम गरिरहेको छ ।’’ उद्योगमा लागेको आगो नियन्त्रणका लागि पानी बोक्न दाङसँगै कपिलवस्तु, बाँके र बर्दिया जिल्लाबाट आएका आठवटा दमकलसँगै ट्याक्टर प्रयोग गरिइरहेको छ ।

उहाँका अनुसार आगलागी नियन्त्रणका लागि दाङका घोराही, तुलसीपुर उपमहानगपालिका र लमही नगरपालिकाबाट एक/एक गरी तीनवटा, कपिलवस्तुबाट कृष्णनगर नगरपालिका र शिवराज नगरपालिकाबाट दुईवटा, बाँकेको नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाबाट दुईवटा र बर्दियाको बाँसगडी नगरपालिकाबाट आएका एउटा दमकल तथा ट्याक्टर, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, डिभिजन वन कार्यालय घोराहीको डढेलो नियन्त्रण दस्ता र स्थानीयले आगो नियन्त्रण गर्ने प्रयास गरिरहेको प्रमुख जिल्ला अधिकारी लम्सालले बताउनुभयो । उद्योगले प्लाई उत्पादन गरेर नेपालका विभिन्न जिल्लासँगै भारतमा समेत निर्यात गर्दै आएको थियो । उद्योगमा करिब नौ सय बढी कर्मचारी कार्यरत थिए । गोरखापत्र अनलाइन

तपाईको प्रतिक्रिया