सुदूरपश्चिम, १० चैत : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले स्थानीय सेवा ऐन तत्काल जारी गर्न सरकारले तयारी गरिरहेको बताउनुभएको छ ।
आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मागपत्र बुझाउन आएको गाउँपालिका राष्ट्रिय महासङ्घका टोलीसँगको छलफलमा उहाँले छिट्टै स्थानीय सेवा ऐन जारी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । मुख्यमन्त्री शाहले भन्नुभयो, “स्थानीय सेवा ऐन प्रदेश सरकारले तत्काल जारी गर्नेछ, बाँकी मागका विषयमा आवश्यक छलफल गरेर सम्बोधनको पहल गरिने छ ।”
महासङ्घले मुख्यमन्त्रीलाई चारबुँदे मागपत्र पेस गरेको छ । स्थानीय सेवा ऐन तत्काल जारी गर्नुपर्ने, समपूरक र विशेष अनुदानमा प्राथमिकता दिनुपर्ने, स्थानीय सरकारको क्षमता अभिवृद्धिको गतिविधि सञ्चालन गर्न आवश्यक वातावरण बनाइनुपर्ने, महासङ्घको प्रदेश कार्यालय तथा कार्यक्रम सञ्चालनका लागि स्रोत उपलब्ध गराउनुपर्नेलगायत माग राखिएका छन् ।