काठमाडौँ, ६ चैत : लुम्बिनीलाई विश्वव्यापी शान्ति र आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले आगामी बिहीबारदेखि ‘लुम्बिनी अन्तरराष्ट्रिय शान्ति महोत्सव’ हुने भएको छ । नेपाल पर्यटन बोर्डले नेपालस्थित चिनियाँ दूतावास, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको सहकार्यमा महोत्सव आयोजना गर्न लागेको हो ।
विसं २०७१ चैत ७ गतेदेखि विसं २०८२ वैशाख २९ गतेसम्म युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनी र वरपरका सहरमा महोत्सव आयोजना हुने पर्यटन बोर्डले जनाएको छ ।
बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले दोस्रो लुम्बिनी अन्तरराष्ट्रिय शान्ति महोत्सव नेपालले शान्ति र सांस्कृतिक आदानप्रदानलाई प्रवर्द्धन गर्न गरेको प्रतिबद्धताको प्रतीकका रूपमा अघि बढाइएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी विश्वभरका पाहुनालाई लुम्बिनीको आध्यात्मिक अनुभव आदानप्रदान गर्न र विश्वव्यापी सौहार्दता मनाउन निमन्त्रणा गर्दछौँ ।”
लुम्बिनीलाई विश्वव्यापी शान्ति र आध्यात्मिक पर्यटनको केन्द्रको रूपमा प्रवर्द्धन गर्नुका साथै नेपाल, चीन र अन्य राष्ट्रहरूबीच सांस्कृतिक, खेलकुद, धार्मिक र जनस्तरको अवस्था आदानप्रदानलाई प्रोत्साहन दिन महोत्सव आयोजना गरिएको बोर्डले विज्ञप्तिमार्फत उल्लेख गरेको छ ।
यही चैत ७ गतेदेखि सुरु हुने महोत्सवमा चैत ८ गते मायादेवी मन्दिर बाहिरको पवित्र उद्यानमा एक सय भिक्षु र चार सय साधकको सहभागितामा ध्यान सत्र सञ्चालन हुनेछ । चैत ९ गते खेलकुद र विकासका लागि अन्तरराष्ट्रिय शान्ति दिवसको अवसरमा तेस्रो लुम्बिनी अन्तरराष्ट्रिय शान्ति म्याराथन हुनेछ ।
यसैबीचमा लुम्बिनी शान्ति साङ्गीतिक कार्यक्रम, झोङ्ग हुआ गुम्बाको २५औँ वार्षिकोत्सवको अवसरमा फोटो प्रदर्शनी, बुद्ध दीक्षा समारोहलगायत विविध कार्यक्रम गर्ने र वैशाख पूर्णिमाको दिन विशेष समापन समारोह हुने बोर्डका प्रमुख कार्यकारी अधिकृत जोशीले जानकारी दिनुभयो ।
महोत्सवलाई लुम्बिनी विकास कोष, नेपाल ओलम्पिक समिति, युनान माउन्टेनियरिङ तथा आउटडोर स्पोट्र्स सङ्घ, केजिएच ग्रुप, भिभो, दीपल, बुद्ध एयरलगायत स्थानीय र अन्तरराष्ट्रिय संस्थाले सहयोग गर्ने आयोजकले जनाएको छ ।