दोहोरो नागरिकतालाई नेपालले स्वीकार्दैन : मन्त्री गुरुङ

  ८ घण्टा अगाडि

काठमाडौँ, ४ चैत : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले दोहोरो नागरिकतालाई नेपालले स्वीकार नगरेको प्रष्ट पार्नुभएको छ । सोमवार प्रतिनिधि सभामा ‘सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक–२०८१’ माथि भएको छलफलमा सांसदहरूले राखेको सुझावका विषयमा जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले गैरआवासीय नेपालीलाई नेपाली नागरिकभन्दा फरक तर सहुलियत नागरिकता दिने व्यवस्था गरेको बताउनुभयो । नेपाली नागरिकता त्याग गर्न नचाहने गैरआवासीय नेपालीमूलका व्यक्तिलाई मात्र गैरआवासीय नेपाली नागरिकता दिने व्यवस्था गरिएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘भावनामा नडुबी नेपालले अहिलेसम्म दोहोरो नागरिकताको प्रावधानलाई नेपालले स्वीकारेको छैन, हामीले के नबुझौ भने गैरआवासीय नागरिकता प्राप्त व्यक्ति भनेर किन भन्नु परेको ? यो कुरा तपाई हामी सबैले बुझ्नुपर्छ । उहाँहरूले प्राप्त गरेको नागरिकता हामीले प्राप्त गरेजस्तो साधारण होइन । त्योभन्दा भिन्न भएको हुनाले सहुलियतको रूपमा उहाँहरूलाई गैरआवासीय नागरिकता प्रदान गरेको छ। गैरआवासीय नागरिकता त्यस्ता व्यक्तिलाई दिएको छ जो नेपाली मुलको विदेशी नागरिक छ र त्यही बसेको छ, जस्ले हाम्रो नागरिकता त्याग नगर्ने कुरा गरेको छ ।’

सञ्चारमन्त्री गुरुङले विदेशमा बसेको नेपालीमुलका नेपाली नागरिकलाई दुई वर्षका लागि भिसा सहुलियत दिने व्यवस्था गरिएको बताउनुभयो । गोरखापत्र अनलाइन

तपाईको प्रतिक्रिया