‘मन्त्रालय र योजना आयोगसँगको समन्वयमा बजेट आउँछ’

  ९ घण्टा अगाडि

काठमाडौँ, ३ चैत्र : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ मन्त्रालय, सम्बन्धित मन्त्रालय र राष्ट्रिय योजना आयोगसँग समन्वय गरी आगामी वर्षको बजेट आउने बताउनुभएको छ। 

आर्थिक वर्ष २०८२/०८३ को बजेट निर्माण सम्बन्धी गृह मन्त्रालयसँगको छलफलमा अर्थमन्त्री पौडेलले तीन पक्षको समन्वयमा बजेट आउँदा बजेटप्रति अपनत्व हुने र कार्यान्वयनमा पनि सहज हुने बताउनु भएको हो। 

छलफल र परामर्श गरी बजेट आउँदा बुझाइमा एकरूपता हुने र देखा परेका चुनौती तथा समस्यालाई समाधान गरेर अघि बढ्न सकिने अर्थमन्त्रीको भनाइ छ। उहाँले नीति तथा कार्यक्रम र बजेटबिच पनि समन्वय हुनुपर्नेमा जोड दिनुभएको छ।

अर्थमन्त्री पौडेलले उपलब्ध साधन स्रोतलाई ख्याल गरी बजेट तथा कार्यक्रमको प्रस्ताव पेस गर्न पनि आग्रह गर्नुभएको छ। 

छलफलमा गृहमन्त्री रमेश लेखक, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, अर्थ सचिव, गृह सचिव, नेपाल प्रहरी र ससस्त्र प्रहरीका प्रमुख लगायत उपस्थित हुनुहुन्थ्यो।  

तपाईको प्रतिक्रिया