सर्बियाको राजधानीमा भ्रष्टाचारविरुद्ध विशाल र्‍याली

  १३ घण्टा अगाडि

बेलग्रेड, २ चैत : सर्बियाको राजधानी बेलग्रेडमा शनिबार दशौँ हजार भ्रष्टाचारविरोधी प्रदर्शनकारीहरू भेला भएका छन् । गत नोभेम्बरमा नोभी साड सहरमा रेलवे स्टेसनको छत भत्किँदा १५ जनाको मृत्यु भएपछि सुरु भएको भ्रष्टाचार विरोधी आन्दोलनको यो सबैभन्दा ठुलो विरोध प्रदर्शन हो ।

राष्ट्रपति अलेक्जेन्डर वुकिचको सङ्कटग्रस्त सरकारका समर्थकहरू पनि राजधानीमा भेला भइरहेका छन् यसले त्यहाँ झडपको जोखिमबारे चिन्ता बढ्दै गएको छ । युरोपेली सङ्घ र संयुक्त राष्ट्रसङ्घ दुवैले शुक्रबार सरकारलाई प्रदर्शन गर्ने अधिकारको सम्मान गर्न अपिल गरेका छन् । रेलवे स्टेसनको दुर्घटनाले कथित भ्रष्टाचार र निर्माण परियोजनाहरूमा ढिलासुस्तीको कारण लामो समयदेखि तिक्ततालाई प्रज्वलित गरिरहेको छ ।

हप्तौँदेखि विद्यार्थी नेतृत्वले सर्बियाका प्रमुख सहरमा र्‍याली निकाल्दै आएका छन् । उनीहरूले आफ्नो भ्रष्टाचार विरोधी अभियानलाई ग्रामीण बस्ती र सहरहरूमा पनि लगेका छन् जुन लामो समयदेखि भुसिकको सरकारको समर्थनको मेरुदण्ड हो । विद्यार्थी नेतृत्वको आन्दोलन शनिबार बेलग्रेड फर्केपछि सरकारमाथि थप दबाब बढ्ने सम्भावना छ । आन्दोलनका कारण प्रधानमन्त्रीसहित केही उच्च पदस्थ अधिकारीहरूले हालैका महिनाहरूमा राजीनामा दिइसकेका छन् ।

-‘मलाई दबाब पर्ने छैन’-

तर सरकारका समर्थकहरू पनि राजधानीमा भेला भइरहेका छन् । दक्षिणपन्थी समूह र लडाकू (मिलिशिया) सदस्यलगायत समूहहरूले सरकारको पक्षमा संसद नजिकै ब्यारिकेडहरू खडा गरेका देखिएको छ । यसले गर्दा शनिबार संसदसम्म मार्च गर्ने तयारीमा रहेका विद्यार्थी नेतृत्वको प्रदर्शनकारीसँग मुठभेड हुने डर बढेको छ ।

शुक्रबार साँझ दङ्गा प्रहरी ब्यारिकेड र खेती गर्ने ट्याक्टरले घेरिएको शिविर नजिकैबाट बाहिर निस्केको थियो । व्यापक विरोध प्रदर्शन गर्न पछि नहट्ने कसम खाएर प्रदर्शनकारीहरू सहरभित्र पस्न थालेपछि वुसिकले एक राष्ट्रिय टेलिभिजन सम्बोधनको क्रममा भन्नुभयो, “म सर्बियाको राष्ट्रपति हुँ र म सडकमा यो देशको नियम बनाउन दिने छैन ।” उहाँले हिंसात्मक गतिविधि नगर्न सबै पक्षलाई आह्वान गर्दै अत्यधिक बल प्रयोग नगर्न प्रहरीलाई निर्देशन दिनुभएको छ ।

राजधानीमा प्रदर्शनमा उत्रिएका विद्यार्थी प्रदर्शनकारीलाई स्वागत गर्न शुक्रबार राति सर्बियाका विभिन्न शहरबाट हजारौँको सङ्ख्यामा अभियानका समर्थक, शुभचिन्तक तथा आन्दोलनकारी बेलग्रेडका सडकमा लामबद्ध भएका छन् । बेलग्रेडस्थित अर्थशास्त्र सङ्कायकी २० वर्षीया छात्रा तिजाना डुरिकले भन्नुभयो, “यहाँ पक्कै पनि हिंसा हुने छैन किनभने हामी सबै मार्च गर्ने र सर्बियालाई स्वतन्त्र पार्ने नेतृत्वलाई स्वागत गर्ने एउटै उद्देश्यका साथ आएका हौँ ।

-‘तनाव’-

यद्यपि केही विश्लेषकहरूले स्थिति अझ तनावपूर्ण हुनसक्ने सक्ने चेतावनी दिएका छन् । राजनीतिक विश्लेषक श्रदजन भिजिकले भन्नुभयो, “सरकारले तनाव बढाउने प्रयास गरिरहेको छ र हामी यो अरू केही दिनका लागि देख्न सक्नेछौँ ।” सरकार समर्थित मिडियाले विद्यार्थीले ‘कू’ गर्ने योजना बनाइरहेको भन्दै भड्काउ आरोपहरू प्रसारण गरेका छन् । यसअघि वुसिकले प्रदर्शनकारीले ‘ठुलो मात्रामा हिंसा’ गरेको आरोप लगाउनुभएको थियो ।

प्रदर्शनको कथित प्रतिकुल कभरेजको जवाफमा सोमबार सरकारी प्रसारक आरटिएसको प्रवेशद्वार अबरुद्ध गर्ने प्रदर्शनकारीहरूसँग प्रहरीले केही बेर झडप गरेको थियो । वसन्त ऋतुको संसदीय सत्रको पहिलो दिन गत हप्ता विपक्षी सांसदहरूले प्रदर्शनलाई समर्थन जनाउन मसाल जुलुस गरेका थिए । झडपका क्रममा कैयौँ सांसद घाइते भएको सरकारले जनाएको छ ।

तर वुसिकले शनिबार ‘अन्तिम’ प्रदर्शन हुने चेतावनी दिए पनि विद्यार्थी प्रदर्शनकारीहरूले जवाफदेहिताको माग पूरा नभएसम्म र्‍याली जारी राख्ने बताएका छन् । एक विद्यार्थी समूहले अनलाइनमार्फत् सार्वजनिक पोस्टमा भनिएको छ, “यदि हाम्रा मागहरू पूरा भएनन् भने, हामी सडकमा अवरोध गर्दै थप आन्दोलनमा सरिक हुनेछौँ । रासस/एएफपी

तपाईको प्रतिक्रिया