सीताके च्याउमा भविष्य खोज्दै डडेलधुराका अन्तराम जोशी

  ८ घण्टा अगाडि

अमरगढी (डडेल्धुरा), २ चैत : डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ का अन्तराम जोशी विदेश नजाने सोचका साथ गाउँमै सीताके च्याउखेती गरेर मनग्य आम्दानी गरिरहनुभएको छ । रोजगारको सिलसिलामा भारत तथा मलेसियामा लामो समय बिताउनुभएका जोशी साथीभाइको लहलहैमा लागेर युरोपियन मुलुक पोल्याण्ड जाने सपना बुनेर काठमाडौँ पुग्नुभएको थियो । पोल्याण्डको भिसा प्रक्रियाका क्रममा खर्च जुटाउन काठमाडाँैकै विभिन्न कृषि फार्ममा काम गर्नुभएका अन्तरामलाई त्यहाँ सिकेको सीपले आत्मनिर्भर बनायो ।

गन्यापधुरा गाउँपालिकाले विदेशबाट फर्किएका कोरोना प्रभावित युवालाई सहयोग गर्ने कार्यक्रमअनुसार च्याउको बीउमा ५० प्रतिशत अनुदानमा दिएपछि अन्तरामको च्याउखेतीको अध्याय सुरु भयो । विस्तारै कृषि ज्ञान केन्द्रको सहयोगले च्याउखेती विस्तार गर्न सहयोग पुगेको उहाँले सुनाउनुभयो ।

डडेल्धुराको बजारमा कन्ये च्याउको उत्पादन प्रशस्त भएकाले आफ्नो उत्पादनको बजारीकरणमा समस्या हुने आँकलन गर्दै उहाँले गोब्रे र सीताके च्याउखेती सुरु गर्नुभएको हो । उहाँले च्याउ फार्म सुरु गरेको दोस्रो वर्ष अर्थात् २०७९ मा ५० मुढाबाट सीताके च्याउखेती सुरु गर्नुभएको हो । डडेलधुरामा उत्पादन र बजारको दृष्टिकोणले च्याउखेतीको सम्भावना रहेको र किसानलाई च्याउखेतीका लागि आफूहरुले पनि सहयोग गरिरहेको कृषि ज्ञान केन्द्र डडेलधुराका प्रमुख नरेन्द्र राज पनेरुले बताउनुभयो ।

उहाँका अनुसार अहिले सात सयभन्दा बढी मुढामा सीताके च्याउ उत्पादन भइरहेको छ । च्याउ उत्पादनमा सुदूरपश्चिममै नमुना फार्म बनाउने उद्देश्यका साथ दुई हजारभन्दा बढी मुढामा च्याउ उत्पादन गर्ने योजना रहेको अन्तरामले बताउनुभयो ।

“पोल्याण्डको भिसा नलागेकामा कुनै पछुतो छैन, अहिले सबै खर्च कटाएर मासिक रु ५० देखि ६० हजारसम्म बचत भइरहेको छ”, उहाँले भन्नुभयो । सातै आगामी वर्षबाट च्याउको उत्पादन बढाएर आम्दानी अझ बढाउने उहाँको सोच छ ।

कसरी उत्पादन हन्छ सीताके च्याउ ?

यो च्याउको उत्पादन काठको मुढामा गरिन्छ । बलियो काठ प्रयोग गर्दा बढी समयसम्म उत्पादन लिन सकिन्छ । यसका लागि प्रायः कटुसको काठ प्रयोग गरिन्छ ।

काठमा प्वाल पारेर भित्र बीउ राखिन्छ । बीउ राखेको चार महिनासम्म सो मुढालाई घाम नलाग्ने ठाउँमा राख्नुपर्दछ । बीउ टुसाएको केही समयपछि उत्पादन लिन सकिन्छ ।

उत्पादन भइसकेपछि मुढालाई भिजाउनुपर्छ । प्रत्येक ५१ दिनमा मुढालाई पानीमा डुबाएर घाम नलाग्ने स्थानमा राख्नुपर्छ । प्रयोग भएको काठको मुढाबाट पाँच वर्षसम्म उत्पादन लिन सकिने काफ्लेको भनाइ छ ।

तपाईको प्रतिक्रिया