बाल सुधारगृह झडपः ५० बढी बन्दी प्रहरी नियन्त्रणमा

  ८ घण्टा अगाडि

नेपालगन्ज, २ चैत : बाँकेको डुडुवामा रहेको जयेन्दु बाल सुधारगृहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रवार राति बाल सुधारगृहमा बालबन्दीविच झडप हुँदा ६ भन्दा बढी बालबन्दी घाइते भएका छन् । ५० जना जति बालबन्दी प्रहरी नियन्त्रणमा आएका छन् ।

लामो समयको कसरतपछि केहीबेर पहिले मात्र ठुलो संख्यामा बाल सुधारगृहमा पुगेको प्रहरीले सुधारगृहमा छिरेर बालबन्दीलाई नियन्त्रणबाट मुक्त गराउन सफल भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीको नेतृत्वमा रहेको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले बालसुधार गृहमा प्रवेश गरेर नियन्त्रणमा लिन सफल भएको बाँकेका प्रहरी प्रवक्ता डिएसपी दिपक पातलीले बताउनुभयो ।

उहाँले सो क्रममा बालबन्दीहरुको ढुंगा प्रहारबाट केही प्रहरी घाइते भएका छन् । ५० भन्दा बढीलाई पक्राउ गरिएको उहाँले बताउनुभयो । यसअघि बालसुधार गृहलाई नियन्त्रणमा लिएर माथि छतबाट प्रहरीमाथि बालबन्दीहरुले ढुंगा प्रहार गरेर भित्र पस्न दिएका थिएनन् । बालसुधार गृहको दोस्रो तल्लामा उनीहरुले आगजनी गरेर केही क्षति भएको प्रहरीले जनाएको छ ।

आगो निभाउन त्यहाँ पुगेको दमकललाई समेत भित्र पस्न नदिएको र पटक पटक वार्ताका लागि आह्वान गर्दा पनि नसुनेपछि प्रहरी बलपूर्वक भित्र पसेको र नियन्त्रणमा लिएको बाँकेका प्रहरी प्रमुख एसपी कार्कीले बताउनुभयो ।

यसअघि शुक्रवार राति सो बाल सुधारगृहमा बालबन्दीबिचको झडपमा परेर ६ जना घाइते भएको उनीहरुको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बालसुधार गृहमा शुक्रवार राति झडप भएको खबर आएपछि ठुलो संख्यामा प्रहरी घटनास्थलमा पुगेको र प्रहरीले राति डेढ बजेतिर घाइतेको उद्धार गरेको एसपी कार्कीले बताउनुभयो ।

सो क्रममा केही बालबन्दी भागेको र उनीहरुको खोजी कार्य भइरहेको पनि प्रहरीले जनाएको छ । सो बाल सुधारगृहमा २५० बालबन्दी रहेका छन् । यहाँ धेरै गाडीबाट पटक–पटक झडप हुने गरेको छ । गोरखापत्र अनलाइन

तपाईको प्रतिक्रिया