काठमाडौँ, २८ फागुन : राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल र सन्दीप लामिछानेसहित पाँच खेलाडी वर्गीकरणको श्रेणी ‘ए’ मा पर्नुभएको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले बुधबार सार्वजनिक गरेको खेलाडीको नयाँ वर्गीकरणमा पुरुषतर्फ ‘ए’ मा पर्नेमा कप्तान रोहित, सन्दीप, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र आसिफ शेख पर्नुभएको हो ।
यसअघि श्रेणी ‘ए’ मा रहनुभएका करण केसी र कुशल भुर्तेल ‘बी’ मा झर्नुभएको छ । क्यानले खेलाडीलाई ‘ए’, ‘बी’, ‘सी’, राष्ट्रिय र इमर्जिङ गरी तीन श्रेणीमा विभाजन गरी सेन्ट्रल कन्ट्याक्टमा राखेको हो ।
जसअनसार ‘ए’ मा रहने खेलाडीको मासिक तलब एक लाख, ‘बी’ को ७० हजार, ‘सी’ को ५५ हजार, राष्ट्रियको ३५ हजार र इमर्जिङको २५ हजार रुपियाँ रहेको छ । श्रेणी ‘बी’ मा कुशल र करणसँगै गुल्शनकुमार झा, ललितनारायण राजवंशी र अनिकुमार शाह रहनुभएको छ । अनिल पहिलो पटक श्रेणीमा पर्नुभएको हो ।
यस्तै क्यानले महिलातर्फ ‘ए’ श्रेणीमा कप्तान इन्दु वर्मा, पूजा महतो, रुविना क्षेत्री र सीता रानामगरलाई समावेश गरेको छ । महिलातर्फ ‘ए’ मा रहने खेलाडीको मासिक तलब ५०, ‘बी’ को ३५ हजार, ‘सी’ को २५ हजार र ‘डी’ को २० हजार रुपियाँ रहेको छ ।

